गायक प्रकाश दुतराज र गायिका मेलिना राईको सहकार्य लगातार हिट भइरहेका छन्। यी दुईले यसअघि 'जुन माया', 'रिमै', 'रेशम', 'राम साइँली' गरी चार वटा गीतमा सहकार्य गरेका थिए। यी सबै गीत हिट छन्।
यतिबेला प्रकाश र मेलिनाको सहकार्य रहेको नयाँ गीत 'छैन र माया' ले चर्चा पाइरहेको छ। दसैंको अवसर पारेर सार्वजनिक यो गीतलाई १२ दिनमा युट्युबमा ५० लाखभन्दा बढीपटक हेरिएको छ। टिकटक, रिल्स लगायतका प्लेटफर्ममा पनि गीत चर्चामा छ। प्रेमिल शब्द समावेश गीत टिकटकमा भाइरल भएसँगै युट्युबमा खोज्नेहरूको संख्या झन् झन् बढ्दैछ।
गायक प्रकाशले पछिल्लो पटक आफ्ना हरेक गीतमा लगातार मेलिनासँग सहकार्य गरिरहेका छन्।
'छैन र माया' गीतको शब्द तथा संगीत प्रकाशकै हो। यसमा कृष्ण केसीले संगीत संयोजन गरेका छन्। प्रेमकथा बोकेको गीतको भिडिओ मुस्ताङ जिल्लाको रमणिय स्थानमा खिचिएको हो। सुन्दर दृश्यहरूमा खिचिएको भिडिओमा प्रकाश स्वयंका साथमा अञ्जली जिसीको अभिनय छ।
मुकेश नेपालीको कोरियोग्राफी, अनिल के। मानन्धरको छायांकन रहेको भिडिओ नवीन घर्ती मगरले निर्देशन तथा सम्पादन गरेका हुन्।