देवी घर्ती मगर दुई दशकभन्दा लामो समयदेखि लोक तथा दोहोरी गीत गायनमा सक्रिय छिन्। यो अवधिमा उनले हजारौं गीतमा स्वर दिएकी छन्।
एक समय त यस्तो थियो, उनले एकैदिन ८ वटासम्म गीत रेकर्ड गराउँथिन्। हिजोआज पनि उनी स्टुडिओमा व्यस्त हुनेमध्येकै गायिकामा पर्छिन्। रोचक कुरा त के छ भने उनी रेकर्डिङमा प्रायः हिँडेरै आउजाउ गर्छिन्।
'पहिल्यैदेखि गाडी लाग्ने समस्याले गाडीको यात्रा गाह्रो लाग्छ। त्यसैले पनि काठमाडौंभित्र समय भएसम्म हिँडछु,' सेतोपाटीसँगको भिडिओ कुराकानीमा उनले भनिन्, 'अहिले बाइक पठाओमा यात्रा गरे सहजै हुन्छ तर पहिल्यैदेखि हिँड्ने बानी लागेकाले पैदलै मज्जा लाग्छ।'
यो पनि: देवी घर्ती र राजु ढकालः दोहोरीले जुराएको हिट जोडी
आफू बस्ने सामाखुसीदेखि बबरमहल, अनामनगरसम्म हिँडेरै पुग्नु त सामान्य जस्तै भएको उनले बताइन्।
देवीले अगाडि भनिन्, 'नख्खीपोटबाट सामाखुसी त हिँडेरै पुगेकी छु। बबरमहल, अनामनगर, पुतलीसडकदेखि सामाखुसी आउजाउ त सामान्य भइसक्यो।'
गाडीमा यात्रा गर्न गाह्रो लाग्ने भएकाले उनले विगतमा थुप्रै स्टेज कार्यक्रम अस्वीकार समेत गरेकी छन्।
उनका 'बिर्सियौं कि कुन्नी, फूलमा माहुरी डुल्ने बेलामा' देखि 'जिम्मल बा’को आँगनीमा', 'यही चाल होला भन्या’भा', 'उही खोलीमा पानी', 'बदला बरिलै' हुँदै 'मयाली' सम्मका गीत चर्चित छन्। केही साताअघि सार्वजनिक नयाँ गीत 'खोली सलल' पनि यतिबेला चर्चामा छ।
हेर्नुहोस् गायिका देवी घर्ती र गायक राजु ढकाल जोडीसँग गरिएको भिडिओ कुराकानी–