गायन रियालिटी शो 'नेपाल आइडल' को नयाँ सिजन छिट्टै सुरू हुने भएको छ।
'नेपाल आइडल' सिजन ६ को अडिसन चैत पहिलो हप्तादेखि सुरू हुन लागेको हो। आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्।
एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडलको यस सिजनलाई अघिल्ला सिजनभन्दा फरक र विशेष बनाउने उद्देश्य राखिएको छ।
यस पटकको सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्ने जनाइएको छ। साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने छन्, जसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गर्नेछ।
यस सिजनको निर्णायक मण्डलमा सुरूवाती तीन सिजन तथा पाँचौं सिजनका निर्णायकहरू न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन्। कार्यक्रम प्रस्तोतामा आसिफ शाह हुनेछन्।
अडिसन चरण अन्तर्गत सुनसरीको इटहरी, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज हुँदै संघीय राजधानी काठमाडौंमा ओपन अडिसन गरिनेछ। नेपाल आइडलको प्रसारण एपीवान टेलिभिजनबाट हुनेछ। समयअनुसार केही परिमार्जन र नवीनता समेट्दै सिजन ६ प्रस्तुत गरिनेछ गर्न लागिएको टेलिभिजनले जनाएको छ।
नेपाल आइडलको यस अघिको सिजनमा करण परियार विजेता बनेका थिए।