भारतीय दिग्गज गायिका आशा भोसलेजीको निधनको खबरले मलाई अत्यन्तै स्तब्ध र भावुक बनाएको छ। मेरो निर्देशन यात्राको सुरूआतदेखि नै उहाँसँगको सांगीतिक सम्बन्ध निकै गहिरो र पारिवारिक रह्यो।
२०३८ सालमा मेरो जीवनको पहिलो फिल्म 'बाँसुरी' का गीतहरू तयार हुँदै थियो। हामीले संगीतकार रञ्जित गजमेर दाइसँग सल्लाह गरेर आशाजीलाई गीत गाउन अनुरोध गर्यौं। हामी उहाँकै माध्यमबाट आशाजीलाई भेट्न गएका थियौं।
बम्बईको 'वेस्टर्न आउटडोर' रेकर्डिङ स्टुडिओमा आशाजीसँग मेरो पहिलो भेट भएको थियो। रञ्जित दाइले नै हाम्रो चिनापर्ची गराइदिनुभयो। त्यहाँ म, श्रीमती भारती सबै मिलेर बढो प्रेमले आशाजीलाई गीत गाउन अनुरोध गर्यौं।
'बाँसुरी' को पहिलो रेकर्डिङ नै आशाजीको स्वरमा 'मिरमिरे साँझमा' बाट सुरू भएको थियो। उहाँले त्यसअघि 'माइतीघर' लगायतका केही नेपाली गीतहरूमा पनि स्वर दिइसक्नुभएको थियो।
'बाँसुरी' पछि हामीले अन्य फिल्ममा पनि गीत गाउन लगातार अनुरोध गर्यौं। उहाँले कहिले पनि हामीलाई नाइँ भन्नुभएन। हाम्रो आग्रह स्वीकार गरेर सधैं गीत गाइदिनुहुन्थ्यो। उहाँले अरू पनि धेरै नेपाली गीत गाउनुभयो।
हामीले 'बाँसुरी' पछि 'लाहुरे', 'चिनो', 'कोसेली' लगायत थुप्रै फिल्ममा निरन्तर सहकार्य गर्यौं।
आशाजीलाई नेपाली गीत र संगीतकर्मीहरूप्रति छुट्टै आदर र प्रेम थियो। उहाँ भन्नुहुन्थ्यो, 'मलाई नेपाली गीतको संगीत एकदमै मन पर्छ।'
स्वर सम्राट नारायण गोपालजी उहाँलाई एकदमै मनपर्ने गायक हुनुहुन्थ्यो। उहाँ नारायण गोपालको 'फ्यान' हुनुहुन्थ्यो। नारायण गोपालको स्वरको प्रशंसा गर्दै भन्नुभएको एउटा कुरा म कहिल्यै भुल्न सक्दिनँ। उहाँले भन्नुभएको थियो, 'इनके आवाज मे तो मुझे पहाड नजर आता है।'
उहाँले नारायण गोपालसँग 'चिनो', 'लाहुरे' लगायत थुप्रै फिल्ममा सँगसँगै गीत गाउनुभयो। 'पहाडको माथी माथी', 'मोहनी लाग्ला है' जस्ता आशा भोसले र नारायण गोपालको सहकार्य रहेका गीतहरू निकै रूचाइए।
रञ्जित दाइको एउटा सांगीतिक कार्यक्रमका लागि हामीले उहाँलाई नेपाल पनि लिएर आएका थियौं। उहाँलाई नेपाल निकै मन परेको थियो।
हाम्रो पछिल्लो सहकार्य भने एउटा निजी (प्राइभेट) गीतमा भएको थियो। पछि उहाँले गाउन कम गर्नुभयो। हामीले पनि उहाँको स्वास्थ्य अवस्था र उमेरका कारण दु:ख दिन चाहेनौं। तर उहाँ सधैं नेपाली गायक–गायिकाको प्रशंसा गरिरहनुहुन्थ्यो। ठिकठाक भयो भने गाऊँला नि, तर तिमीहरूकहाँ पनि राम्रा राम्रा गायकहरू छन्, उनीहरूलाई नै गाउन लगाउनू भनेर भन्नुहुन्थ्यो।
उहाँ नेपाली गायकका गीतहरू सुन्नुहुन्थ्यो। आफूलाई राम्रो लागेको अवस्थामा 'अच्छा है' भनेर प्रतिक्रिया दिनुहुन्थ्यो।
आशा भोसलेजीसँग मेरो व्यावसायिक सम्बन्ध मात्र थिएन, एउटा पारिवारिक सम्बन्ध पनि थियो। उहाँका छोरा हेमन्त भोसले र मेरोबीच राम्रो मित्रता थियो। हामीले सहायक निर्देशक र सहायक सम्पादकका रूपमा सँगै काम गरेका थियौं। उहाँ मेरी श्रीमती भारतीलाई पनि छोरीलाई झैं स्नेह गर्नुहुन्थ्यो।
आज उहाँको निधनको खबर सुन्दै गर्दा मेरो फिल्म 'पहाड' को प्रिमियर शो हुँदैछ। यो फिल्मको सोच दशकौंपहिले आएको थियो। त्यस बेला नारायण गोगाल दाइले यसको म्युजिक म गर्छु भन्दै गर्दा रञ्जित दाइले भन्नुभएको थियो, 'यो एउटा गीत चाहिँ म आशाजीलाई भन्दिन्छु।'
त्यति बेला नारायण दाइको संगीतमा आशाजीलाई गीत गाउन लगाउने तारतम्य रञ्जित दाइले मिलाइदिँदै हुनुहुन्थ्यो। तर त्यो बेला सहकार्य भएन। फिल्म पनि हामीले लामो समय बनाएनौं।
आज उहाँको निधनको खबर सुन्दा कम्तिमा उहाँको घरमै गएर श्रद्धाञ्जलि दिन पाए हुन्थ्यो भन्ने लागिरहेको छ। तर फिल्मको प्रिमियर भएका कारण उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न असमर्थ भएँ। यसको पछुतो लागिरहेको छ।
आशाजीको ममतामयी व्यवहार, अनुशासन र जादुमयी स्वर सधैं सम्झनामा रहनेछ।
(तुलसी घिमिरेसँग सेतोपाटीका लागि सुशील नेपालले गरेको कुराकानीमा आधारित)