गायक तथा अभिनेता प्रकाश सपुतले आफू पुनः कलाकारितामा फर्किने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै उनले यस्तो बताएका हुन्।
'म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु। मेरो बाल मष्तिकले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल इन्टरटेनर हुन चाहन्छु,' उनले लेखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा प्रस्तावित भए पनि नअटेका उनले सांसद बन्न नपाए पनि आफ्नो कुनै गुनासो नरहेको बताएका छन्।
उनले आफू राजनीतिमा लाग्नुको उद्देश्यबारे समेत प्रष्ट पारेका छन्। निर्वाचनपछि आफूलाई 'म छुटेँ' भन्ने लागे पनि गुनासो नरहेको उनको भनाइ छ।
लेखेका छन्, 'निर्वाचनपछि मलाई म छुटेँ भन्ने लागेको छ तर आफ्नो उद्देश्य पूरा भएकोमा छोटो तयारीका बिच उत्कृष्ट नम्बर लिएर पास भएको कुनै स्कुले विद्यार्थी जस्तै फुरूङ्ग भएको छु। मेरो कुनै गुनासो छैन।'
प्रकाशले राजनीति पूर्ण रूपमा त्यागेको स्पष्ट घोषणा नगरे पनि कलाकारितामा सक्रिय हुने बताएका हुन्।
उनले समानुपातिकमा नअटाएपछि पार्टी सभापति रवि लामिछानेसँग भएको संवाद समेत आफ्नो पोस्टमा उल्लेख गरेका छन्।
प्रकाशले आफू कलाकारितामा फर्किने संकेत यसअघि नै गरिसकेका थिए। उनले ३१ मार्च (चैत १७) मा आयरल्याण्डमा कन्सर्ट गर्दैछन्। त्यहाँ बागलुङ समाज आयरल्याण्डको प्रस्तुतिमा आयोजित 'चैते दसैं म्युजिक कन्सर्ट' मा प्रकाशले प्रस्तुति दिन लागेका हुन्।
त्यस्तै, अब प्रकाश आफू अभिनीत फिल्म 'परालको आगो' प्रचारप्रसारमा समेत सहभागी हुनेछन्। यो फिल्म बैशाख ११ गतेदेखि प्रदर्शन तयारीमा छ।