यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीआइक्यू+) को लागि काम गर्दै आएको संस्था मितिनी नेपालले ज्येष्ठ नागरिकको कथा पुस्तक सार्वजनिक गरेको छ।
मितिनी नेपालले समुदायको ज्येष्ठ नागरिकको जीवन संर्घष भएको 'हाम्रो जीवन, हाम्रा कथाहरुः नेपालका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक' कथा पुस्तक सार्वजनिक गरेको हो।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मंगलबार एक कार्यक्रम गर्दै पुस्तक सार्वजनिक गरिएको हो। उक्त पुस्तकलाई आफ्नै कथा लेखिएका ज्येष्ठ नागरिक र संस्थाकी अध्यक्ष लक्ष्मी घलानले सार्वजनिक गरेकी हुन्।
पुस्तकमा ५० देखि ७५ वर्ष उमेर समूहका १० जना ज्येष्ठ नागरिकको कथा लेखिएको छ। पुस्तकमा कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एलजिबिटीआइक्यूप्लस समुदायका ज्येष्ठ नागरिकको कथा रहेको छ।
पुस्तकमा ज्येष्ठ नागरिकको आर्थिक संघर्ष, पहिचानसहितको नागरिकता सम्बन्धि मुद्दा, सरकारी सेवा तथा सुविधामा भोग्नुपरेको समस्या, पारिवारिक, सामाजिक विभेद, आवासको समस्या, सफलताको कथा, राजनीतिक सहभागिता, सन्तान ग्रहणलगायत वैवाहिक समानताको कथाहरू रहेको छ।
पुस्तकमा कथा भएका ज्येष्ठ नागरिकहरूलाई पहिचानको कारण परिवारले बहिष्कार गरेका छन्। नेपालको संविधान २०७२ को धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुन्छ भने पनि समुदायका ज्येष्ठ नागरिकहरूले भने यस्ता सेवा नपाएको संस्थाकी अध्यक्ष लक्ष्मी घलानले बताइन्।