लेखक कुमार नगरकोटीको दसैं कृति 'जोगियाना' सार्वजनिक भएको छ। ललिपुरस्थित पाटन संग्रहालयमा मंगलबार उनको यस संस्मरण कृति सार्वजनिक भएको हो।
नगरकोटीको लेखन यात्रामा भूमिका खेलेका तीन सञ्चारकर्मी यज्ञश, दीपक सापकोटा र बसन्त बस्नेतले यो किताब विमोचन गरेका थिए। कार्यक्रममा नगरकोटीले आफ्ना केही लेखका अंश र कविताहरू सुनाए।
संस्मरणात्मक किताब 'जोगियाना' बारे बताउँदै नगरकोटीले भने, 'मलाई संस्मरण विधा एकदम मनपर्छ। त्यसमा 'मरण' भन्ने शब्द भएर पनि होला सायद! संस्मरणमै झुन्डिएर मरौं न त भनेर यो किताब निकालेँ।'
उनले अगाडि भने, 'अतीतमा बाँच्ने मान्छे पतित हो भनेर म बेलाबेला भनिरहेको हुन्छु र पतित भनेर खास मैले आफैंलाई भनेको हुँ। म प्रायः अतीत, याद र नोस्टालजियामा रमाइरहेको हुन्छु। यो किताब मेरो यादहरूको बहिखाता हो।'
कार्यक्रममा उनीबारे केही लेखक र फिल्म समीक्षकहरूले उनीसँग जोडिएका केही संस्मरणहरू पनि सुनाए।
महेशविक्रम शाह, लेखक
नगरकोटीलाई पहिलोपटक फाइनप्रिन्टको साहित्य महोत्सवमा भेटेको हुँ। त्यतिबेला पहिलोपटक देख्दा र उहाँका लेखहरू पढ्दा मलाई उहाँ एकदम अमूर्त लाग्थ्यो। अहिले उहाँ बिस्तारै खुल्दै आएको, सामाजिक विषयवस्तुसँग पनि नजिक भएको महसुस हुन्छ। नगरकोटी फरक धारमा हिँडिरहेका पथिक हुन् जसलाई कसैको मतलब छैन। चाहे उनको पक्षमा कोही लागोस्, चाहे कसैले उसलाई मन पराओस् वा नपराओस्, उनी अविरल र अविचलित रूपमा आफ्नो पथमा लम्किरहेको एक साहित्यिक पथिक हो।
नगरकोटीको जुन 'गेटअप' छ, त्यसलाई देखेर मान्छेहरू जोगीले एउटा सामान्य वस्त्र लगाए हुन्छ भन्ने ठान्दा हुन्। तर जोगी भएर हिँड्न बहुत गाह्रो काम हो। उनको गेटअपले गर्दा वास्तवमा साहित्यकार चाहिँ कुमार नगरकोटी नै हुन् कि भन्ने लाग्छ। भलै उनको सिर्जना कहिले बुझिएलान्, कहिले नबुझिएलान् तर उनको सिर्जनाले मान्छेलाई आकर्षित गर्छ। त्यो नै उनको विशिष्ट पक्ष हो।
नवीन सुब्बा, फिल्म निर्देशक
जसले शब्दहरूलाई खेल्न सक्छ, उचाल्ने पछार्ने, तन्काउने, खुम्च्याउने गर्न सक्छ; त्यो कुमारजी हुन्। सिनेमामा पनि त्यस्तो गर्न सक्छौं कि सक्दैनौं भन्ने सोच हामीलाई जहिले पनि आइरहेको हुन्छ। उनले जसरी समीक्षा लेखिरहेका हुन्छन्, त्यसले पाठकलाई मात्र होइन, हामीलाई पनि उत्प्रेरित गरिरहेको हुन्छ। साहित्य लेख्ने मान्छेले पनि सिनेमा हेर्दो रहेछ भन्ने कुराले नै हामीलाई उत्प्रेरित गर्छ। उनले जुन तहमा सिनेमा बुझ्छन् हामी फिल्म बनाउने मान्छेहरू नै पुग्न सकेका हुन्नौं।
सगुना शाह, बुकाहोलिक्स
किताबको बहसहरूमा उहाँहरूको किताबमा केहीले गाली गर्न थाल्ने र केहीले प्रशंसा गर्ने गर्छन्। उहाँ अलि पृथक खालको लेख्नुहुन्छ। म उहाँको लेखनको पाठक हो र मलाई उनको लेखनी मनपर्छ।
विप्लव प्रतीक, कवि
मैले उनलाई त्यतिबेला पढेको हो जतिबेला म अमेरिकाको डलासमा थिएँ। उनको किताब 'मोक्षान्तः काठमान्डु फिभर' पढ्दा म एकदम प्रभावित भएको थिएँ। म त्यस प्रकारको लेखनको एकदम फ्यान हुँ। कविताको कुरा गर्दा एकदिन मैले उहाँको कविता 'औंलाहरू' पढेँ। यो त मैले लेख्नुपर्ने कविता किन कुमार नगरकोटीले लेखेको होला जस्तो लाग्यो।
नगरकोटीले कविता 'सबका शव' फोनमा सुनाएपछि मैले अनुवाद गरेर कान्तिपुर पत्रिकामा छापेको थिएँ। नेपाली लेखकले उर्दुमा लेखेको कविता नेपाली कविले नेपालीमा अनुवाद गरेको त्यो सुखद संयोग थियो। म उनको लेखन मनपर्छ।
गणेश पौडेल, लेखक
उहाँ अत्यन्त सरल, कोमल खालको मान्छे हुनुहुन्छ। कतै लेखेको पनि थिए कि उहाँ बालकजस्तो हुनुहुन्छ। दाइसँग मेरो प्रेमबाहेक कुनै सम्बन्ध छैन। कतिपय लेखकसँग मेरो एक खालको सिर्जनात्मक डाह हुन्छ। तर कुमार दाइसँग मेरो त्यस्तो हुँदैन। कहिलेकाहीँ चाहिँ यो आइडिया मसँग पनि हुनसक्थ्यो भन्ने हुन्छ। तर उहाँले लेखेकामा एकदम आनन्द हुन्छ।
नगरकोटीको अभिरूचि व्यापक छ। एकपटक सिनेमा नै बनाउँछु भनेर लाग्नुभएको थियो। एकपटक निर्माता नै खोज्दै पनि हिँड्नुभएको थियो। कुन दिन चित्र पनि बनाउनु होला। नृत्य पनि उहाँले सिक्नुहोला। कुनै बेला यो नाच हेर भन्दै मलाई भिडिओ पढाएर हैरान पार्नुहुन्थ्यो। समग्रतामा यो उहाँको कलाप्रतिको प्रेम हो र उहाँ कलाको समग्रतालाई महसुस गर्नसक्ने सर्जक हो।
दिपक सापकोटा, पत्रकार
कुमार नगरकोटीलाई २०६५ सालमा तादी किनारको यात्रामा पहिलोपटक भेटेको थिए। रातभर साथीहरू ग्यालेनको लोकल खाएर ढलिरहेका थिए। रक्सीको एउटा ग्यालेन रित्याउनेमा कुमार नगरकोटी हुनुहुन्थ्यो। भोलि बिहान उहाँ कसरी हिँड्नुहुन्छ जस्तो लागेको थियो तर उहाँ जति छिटो र नढलिकन मजाले हिँड्ने अरू थिएनन्।
त्यसको एक डेढ महिनापछि मेरो विवाह हुने भयो। मैले उहाँलाई विवाहमा निम्तो गरेँ।
उहाँले भन्नुभयो, 'यस्तो औपचारिक कार्यक्रममा मलाई निम्तो नगर्नुस्। आउनुस्, बरू दारू खाम्।'
वसन्त बस्नेत, पत्रकार
मैले कुमार नगरकोटीलाई नेपाल एकेडेमीबाट छापिएको अंक ८२ मा पढेको थिएँ। त्यसमा उनको तीनवटा कविता छापिएको थियो जसले मलाई कुमार नगरकोटीको आजीवन पाठक बनायो। मैले नागरिकमा हुँदा त्यो तीनवटै कवितालाई पुनः छापेको थिएँ। नगरकोटीको कुरा गर्न बस्यो भने त आफ्नै कुरा गर्न बसेजस्तै हुन्छ।
पाठकका लागि लेख्ने कि आफ्नो लागि भनेर संसारभरको साहित्यमा बहस चलिरहेको छ। कुमार नगरकोटी यो बहसलाई पर कतै छाडेर आफ्नै दुनिँयामा लागिरहेको एउटा साधक हो।