कवि गणेश श्रमणको ‘आगो लिएर गाउँगाउँमा’ कविता संग्रह चितवनमा विमोचन गरिएको छ।
बुधबार सम्पूर्ण किताबमा कविहरू एलबी क्षेत्री, केदारनाथ खनाल, उदय अधिकारी, रमेश प्रभात र डाक्टर हेमनाथ घिमिरेले पुस्तकको गृह विमोचन गरेका हुन्।
समीक्षक रमेश प्रभातले कवि श्रमणको गतिशील व्यक्तित्व पुस्तकमा उद्घाटित भएको बताएका छन्। ‘गाउँको परिवेशमा रमाउन जानेका कविले ‘आगो लिएर गाउँ गाउँमा’ कवितासग्रहमा तिनै परिवेशको बहुआयामिक चित्रण गरेका छन्,’ उनले भने।
अर्का समीक्षक उदय अधिकारीले कवि श्रमणका कविता सरल र स्पष्ट भएको धारणा राखे ।
कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले गणेशका कवितामा समेटिएका विषयवस्तुको क्षितिज फराकिलो भएको बताए। श्रमणका कविता काव्यिक मात्रै नभएर आख्यानका रूपमा पनि पढ्न सकिने उनको कथन थियो।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलियाले गणेशका कविता उत्कृष्ट भएको बताए। ‘कविले कवितामा मेहनत गरेका छन्। पाठकलाई वास्तविक कविताको स्वाद पस्किन कवि सफल देखिएका छन्,’ उनले भने।
सम्पूर्ण किताबका प्रमुख लेखराम सापकोटाले कवि श्रमणका कवितामा काव्यिक रस भरपुर रहेको बताए।
श्रमणको यो तेस्रो कृति हो। यसअघि उनको ‘शब्दक्रान्ति’ (२०६६) र लघुकथाको कृति ‘गुलियो काठमाडौं’ (२०७५) प्रकाशित छ ।
फिनिक्स बुक्सले प्रकाशन गरेको उनको नयाँ पुस्तकको मूल्य चार सय रुपैयाँ छ ।