एरिका ल्युकट्यागद्वारा सन् १९५७ मा लिखित 'एरिका एण्ड द किङ्ग' उपन्यासको अनुवाद ‘त्रिभुवनकी एरिका’ मलाई निकै मन परेको पुस्तक मध्येको एक पुस्तक हो।
यो पुस्तकलाई दोहोर्याए फेरि चित्त नबुझेर फेरि तेहेर्याएर पढें।
यो एतिहासिक पुस्तककी लेखिका एक थेरापिस्ट चिकित्सक हुन्।
पूर्ववडामहारानी कान्ति राज्यलक्ष्मी देवी शाहको उपचारको निम्ति उनलाई नेपाल ल्याइएको थियो।
यही क्रममा एरिका पूर्वराजा त्रिभुवनको अत्यन्त निकट रहन पुगिन् र उनको भूमिकाले नेपालको इतिहासलाई नै एउटा सार्थक नतिजा दिन पुग्यो।
त्रिभुवनकी एरिका पढिरहँदा मनमा अनेक खालका कौतुहलता सलबलाउन पुग्छन्। त्रिभुवनसँगको प्रेममा रहेर देशको हित हुने गरी अत्यन्त निकटतामा उनले सकारात्मक गरेको कार्यको सराहना गर्न पुगिन्छ।
एरिका लेख्छिन्, ‘ह्याप्पी कटेज’ नामक शाही दरबारमा राजालाई बन्दी राखिएको थियो।
उनको निकट रहँदा त्रिभुवनले दिएको प्रेमको चिनोको बदलामा आठ वर्षअघि गरिएको वाचाको परिणाम अनुरूप यो पुस्तक तयार भएको हो।
उनी भन्छिन्, ‘देशको बागडोर राणाको हातमा भएर राजा सुनको पिँजडामा बन्दी थिए। एकदिन मनमा लाग्यो राजा यसरी जनताको नजरमा नराम्रो बनेर बन्दी रहनु हुन्न राजालाई जसरी पनि मुक्ति गराउनु पर्छ सोचेर मैले कदम अघि बढाएँ।’
राजाले दिएको उपहारस्वरूप उनको निम्ति ‘जवान राजा र सुनको चुरा’ नामक कथा लेखेकी थिएँ र उसै बखत बाचा गरेकी थिएँं एक दिन संसारको अगाडि यो कथा सत्य सावित भएर आउनेछ।
यो पुस्तकभित्र चार वटा शीर्षक राखेर लेखिएको यथार्थ इतिहास छ।
ती चार शीर्षकहरू
१- कमलको फूलमा जडित जवाहरात
२- बुढानिलकण्ठ नारायणको मूर्ति
३- फूल अत्यन्तै मिठोर वासनायुक्त छ
४- राजाको निधारबाट प्रज्वलित प्रकाश
यी चार शीर्षक राखेर एरिकाले घटनाहरू छर्लङ्ग पार्ने प्रयास गरेकी छन्।
‘कमलको फूलमा जडित जवाहरात’
शीर्षकमा लेखिएको छ-
‘१९४८ का दिन एक जना युरोपियली डाक्टरले एरिकालाई पत्र लेखेका थिए- तपाईं अत्यन्त कुलीन महिलालाई मालिस उपचारको लागि आउन सक्नुहुन्छ? भनेर लेखिएको पत्रमा उपचार गर्नुपर्ने बिरामी जेठी महारानी कान्ति राज्यलक्ष्मी हुन् भनि लेखिएको थियो। यसरी महरानीको उपचारको निम्ति मलाई नेपाल बोलाइएको थियो।’
उनी लेख्छिन्, ‘श्री ५ महाराजधिराजको दरबारमा पेशागत सेवा बापत प्रतिमहिना २००० दिने शर्त रहेको थियो र अरू सुविधा पनि थियो।’
यो पुस्तककी लेखिका वास्तवमै विचारक व्यक्तित्व भएकी महिला थिइन्।
डाक्टर सिद्धिमणिले एरिकालाई महारानीलाई गर्नुपर्ने उपचार सबै सम्झाइ उनी राजालाई भेट्नु पूर्व श्री ३ महाराज मोहन शमसेरजंग बहादुर राणा प्रधानमन्त्रीलाई भेट्नु पर्ने जानकरी गराए।
राणाहरूको शासनका कारण हरेक निर्णय राजाले गर्नुपूर्व राणा प्रधानमन्त्रीले गर्ने गर्थे सोही अनुरूप पहिला प्रधानमन्त्रीलाई भेट्न लगाइएको थियो।
राजालाई भेट्दा उनको मनमा राजा दन्त्य कथाको जस्तो बुढो अनि चस्मा लगाएका र बटारिएका जुँगा भएका जस्ता होलान् सोचेकी एरिका अघिल्तिर कथाका सुकुमार राजकुमार जस्ता जवान अग्ला र फूर्तिला राजा देख्दा अचम्म मानेको कुरा समेत उल्लेख गरेकी छन्।
राजाको अत्यन्तै निकट रहँदा उनीसँगका अन्तरंगका कुरा र अफसोस त्यहाँ हरेक आदेश राणाको चल्थ्यो खासगरी राजा त्रिभुवन राणाहरूको बन्दीमा थिए भन्ने प्रष्ट देखिन्छ भन्ने समेत उल्लेख गरेकी छन्।
एउटी युरोपियन महिला जस्ले नेपाल देश कतै न कतै बन्दी बनेको छ भन्ने बुझेर आफ्नो बुझाइहरू नबुझे झैं गरी राजा त्रिभुवनलाई बताएकी थिइन्।
नेपालको भयावह चित्र उनी सहजै बुझ्दै गएकी थिइन्।
उनी इतिहास यसरी खोतल्छिन्, ‘अठारौं शताब्दीको अन्त्यतिर नेवारहरूमाथि राजा पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खालीहरूले विजय प्राप्त गरे तर दु:खद् पृथ्वीनारायणसँग आएका राजपुतका वंशज जंगबहादुर राणाले राजाहरूलाई बन्दी बनाए र राणा शासन चलाए।
लेखिका त्रिभुवनको कति निकट थिइन् भने राजाका पारिवारिक व्यक्तिगत कुराहरू बुझ्ने र पारिवारिक खुसी अनि समस्याहरूमा सहभागी हुने समेत मौका पाएकी थिइन्।
उनी भन्छिन्, ‘राणाहरूले मनोमानी ढंगले सोझा जनतालाई मृत्युदण्ड दिन्थे मैले राजालाई भनें- ‘राजाको लालमोहर बेगर कसैलाई मृत्युुदण्ड दिन मिल्दैन हजुरले किन हस्तक्षेप गरिबक्सदैन?’
राजा ह्याप्पी कटेजमा बन्दी थिए तर उनी सबै कुरा थाहा पाएर पनि रक्षाका निम्ति थाहा नपाउनु थियो।
उनी कहिलेकाहीँ मेरो छेउ बसेर चुपचाप मलाई हेरिरहन्थे। एकदिन मैले उनलाई रिभोरियामा देखेका भारतीय राजकुमारहरूको बारेमा बताएँ। उनले एटलस बुक ल्याउन भने र एटलसमा भएका विभिन्न ठाउँमा औंला नचाए र उनले उत्तेजित हुँदै भने- हामी त्यो ठाउँमा पुग्नेछौं जब म स्वतन्त्र हुनेछु।
उनले आफू बन्दी छु भन्ने बुझेका थिए। राणाहरूले उनी अति खराब स्त्री लम्पट चरित्र भएका व्यक्तिको रूपमा प्रचार गरेका थिए।
मैले भारत फर्किएपछि सबै भन्दा पहिलो काम पण्डित नेहरूलाई भेट्नु पर्छ भनेर मेरो योजना सुनाएँ। उनको मुहारमा आशाको किरण देखियो।
‘बुढानिलकण्ठमा नारायणको मूर्ति’
नेपालका लागि भारतीय राजदूत सुरजित सिंह थिए।
उनले नेपालको संस्कृति अन्तर्गतका नर्तकहरू, मुकुण्डो, प्वाँखका कल्कीहरू, डम्फु आदि इत्यादिमा परम्परागत शैलीको पनि निक्कै राम्रोसँग चर्चा गरेकी छन्।
सुरजित सिंहले राणाहरूलाई अत्यन्तै नजिकबाट हेरे पनि राजालाई प्रधानमन्त्रीको गहिरो लेन्स भएको चस्माबाट हेर्ने गर्थे। त्यसकारण एरिकाले त्रिभुवनलाई बन्दी जीवनबाट स्वतन्त्र बनाउन पहिलो वार्ता सुरजित सिंहसँग गरेको उल्लेख छ।
जब स्वतन्त्रको लडाइँलाई पहिलो भेट सुरजित सिंहसँग एरिकाले गरेकी थिइन्। स्वतन्त्रताको षड्यन्त्रमा राजा पहिलेदेखि नै भित्रभित्रै लागिरहेको थाहा भयो उनलाई। त्रिभुवनका तीन छोराहरूमध्ये युवराज महेन्द्र नारायणहिटीमै र अरू दुई छोरा हिमालय र बसुन्धारा काठमाडौं बाहिर बस्दथे।
राजा प्रधानमन्त्रीको अनुमति लिएर सांँझ मनोरञ्जनको बहानामा छोराहरू कहाँ पुग्दथे र त्यहाँ भेष बदलेर उनी निश्चित भेटघाटमा संलग्न हुन्थे।
यसरी उनी पहिलेदेखि नै यस्ता योजनाहरूमा लागिरहेका थिए। उनको भेट योजना बुढानिलकण्ठमा सर चन्द्रेश्वर र डा दास गुप्ता सँगको गोप्य थियो।
सुरजित र त्रिभुवनबीच विश्वासको सम्बन्धपश्चात् सुरजितले आशा नमार्न उनलाई अनुरोध गर्दै बिदा भएर भारत फर्किएका थिए।
एरिकाले भेट गरेका अर्का व्यक्ति सर चन्द्रेश्वरसँगको भेटमा राजा त्रिभुवन प्रजातन्त्रमा संवैधानिक राजा बन्न चाहने कुरा ब्यक्त गरिन्।
सर चन्द्रेश्वरलाई राजाको तर्फबाट भारतमा पण्डित नेहरूसम्म पत्र पुर्याउन आग्रह गरिन् र डा दास गुप्तासँग पनि राजा स्वतन्त्र हुन चाहेको कुरा ब्यक्त गरिन्। यसरी एरिकाले आफ्ना भेटहरू तीव्र गरेकी थिइन्।
एरिका आफ्नो कार्य समय समाप्तिको अन्तिम दिनहरूमा त्रिभुवनलाई स्वतन्त्र बनाउनमा जुटेकी थिइन्। उनी भारततर्फ गएपछि त्रिभुवनसँगको पत्राचारमा सरदार कृष्णलाललाई सहायक विश्वास योग्य व्यक्ति मान्थे।
एरिकासँगको पत्राचारमा त्रिभुवनले विभिन्न सांकेतिक भाषाको प्रयोग गर्थे र समय सापेक्ष कुराहरूको अवगत गराउँथे।
‘फूल अत्यन्तै मीठो र वासनायुक्त’
एरिका भारतको सिमला फर्किएपछि त्रिभुवनलाई पत्राचार गर्न सांकेतिक अर्थात् एच लालको नाम लेखेर त्यो पत्रलाई अर्को खामभित्र हालेर दास गुप्ताको ठेगाना लेख्थिन्।
दास गुप्ताले निकै सावधानीका साथ युवराज महेन्द्र हिमालय वा बसुन्धारालाई बुझाउंँथे यसरी पत्र राजासम्म पुर्याइन्थ्यो। त्रिभुवनले एरिकालाई प्यारी केट सम्बोधन गरेर पत्रको प्रत्युत्तर लेख्ने गर्ने उल्लेख छ।
सबै पत्रहरू सांकेतिक नाम प्रयोग गरेर लेखिन्थ्यो। त्रिभुवनले लेखेको पत्रमा ‘आजका दिनसम्म पंक्षी अर्थात् (राजदुत सर चन्द्र शमसेर) लाई मेरो बगैंचामा आउन दिइएको छैन। यसरी सांकेतिक नाम प्रयोग गरेर पत्रहरू आदानप्रदान हुन्थ्यो र अवस्थाको जानकारी गराइन्थ्यो।
सुरजित, पटियालाका महाराजा, दिल्लीका पुलिस प्रमुख, दिल्लीका ब्यापारी, कांग्रेस पार्टीका शक्ति र लक्ष्य जस्ता सूचनाहरू उपलब्ध गराएर पत्रमार्फत् राजालाई स्थिति अवगत गराउने गर्थिन्।
एरिकाले अक्सफोर्ड विश्व विद्यालयमा मानार्थ डाक्टर बिपी एल वेदी राष्ट्रवादी आन्दोलनले जन्माएका महान व्यक्ति थिए उनलाई भेटिन्। वेदीलाई राजाको बारेमा बताउँदा वेदीले राजालाई धैर्य गर्न र पर्खिन अह्राएका थिए।
उनी लेख्छिन्- राजाले १९५० जनवरीको ३१ मा ह्याप्पी कटेजमा लेखिएको पत्र ७ फेब्रुअरीमा सिमला पुगेको थियो र ८ तारिखमा दिल्लीतर्फ पठाइएको पत्रमा राजाले सबै कुरा हाम्रो पक्षमा हुँदैछ हामी छिट्टै भेट्ने छौं भनी लेखेका थिए यो कुराले मनमा निक्कै आनन्दित तुल्यायो।
राजा दिल्ली पुगे सर चन्द्रेश्वरले नै यो वचन पूरा गरेका थिए।
राजा दिल्ली पुग्नु नोभेम्बर ६-१९५० का दिन सत्यमा परिणत भएको थियो।
राजपरिवारले गोप्य योजना अनुसार राजा शिकार गर्नका निम्ति भनी निस्किएर नेपाल छोडेर भारतीय दूतावासभित्र सुरक्षित हुन पुगेका थिए।
राजा निस्किएलगत्तै नेपालमा पूरा राष्ट्र राणाहरूको विरूद्धमा उत्रिएका थिए। अन्ततः सर चन्द्रेश्वर र राजाको भेट भएपछि राजाको तर्फबाट राणाविरूद्ध खुला विद्रोह विष्फोट भएको थियो।’
‘यसप्रकार उनले विजय शमसेर राणालाई तिमीहरूले मुलुकप्रति गरेको व्यवहारमा म सन्तुष्टि छैन भनेर पहिलोपटक भन्न सफल भए।’
त्रिभुवन सपरिवारसहित निस्कँदा आफ्नो परिवारिक सदस्यको गैर हाजिरीमा मुलुक नछाड्ने मनसायले जानाजान महेन्द्रका माहिला छोरा तीन वर्षीय ज्ञानेन्द्रलाई आयाको हेरचाहमा दरबारमै छोडेका थिए।
सभाले राजा त्रिभुवनलाई पदच्युत गरी तिनै ज्ञानेन्द्रलाई राजा घोषित गर्यो।
राजा भारतीय दूतावासमा पुगेपछि दूतावास चार दिनसम्म घेराबन्दीमा रह्यो।
नोभेम्बर १० तारिखका दिन राजपरिवारलाई भारततर्फ लगियो।
भारतमा राजा त्रिभुवनलाई स्वागत गर्ने पहिलो व्यक्ति पण्डित नेहरू थिए।
दिल्ली पुगेका प्रतिनिधिले राजालाई संम्बैधानिक राजाका रूपमा फिर्ता गर्न र १९५२ भित्र बालिग मताधिकारको आधारमा चुनिएको संविधानको गठन गर्न मंजुर गरे।
एरिका लेख्छिन्, ‘मैले काठमाडौं छोडेको २ वर्षपछि र राजा विजयी भएर फर्केको ९ महिनापछि १९५१ को हिउँदमा म काठमाडौं पुगें।’
हिउँजस्तो सेतो गाउन लगाएका व्यक्ति राजासँग आँगनमा उभिएका थिए उनी गणेशमान सिंह थिए।
मैले गणेशमानलाई सोधें, ‘तपाईंले सधैं यो सेतो पहिरन किन लगाइरहनु भएको छ?
उनले भने-राणाहरूले २० वर्षसम्म मलाई फलामे भकुण्डो सहितका जंजिरले बाँधेर राखे मेरो मुलुकले पाएको दु:ख र यातनाका दिनहरू कहिल्यै नबिर्सियोस् भन्नाका लागि आशोच बार्ने भएको छु।
‘राजाको निधारबाट प्रज्वलित प्रकाश’
राजा त्रिभुवनको मार्च १३- १९५५ आइतबारका दिन दिउँसो ३ बजे जुरिच क्लिनिकमा हृदयघात पश्चात् इन्फ्लुएञ्जाका कारण मृत्यु भएको थियो त्यो समय म बेलायतको सानो कोठामा आमा र साथीको साथ बसेकी थिएंँ। सो खबरले नि:शब्दता छायो।
एउटी युरोपियन थेरापिस्ट चिकित्सकले नेपालप्रति सकारात्मक खेलेको भूमिका सम्मान योग्य छ तर उनी विदेशी महिला थिइन त्यसैकारण हुन सक्छ काठमाडौंका केही ठाउँहरूका नामहरू गलत लेखिएको छ भनी अनुवादकले प्रष्ट्याएका छन्।
अनुश्का प्रकाशनद्वारा प्रकाशित ‘त्रिभुवनकी एरिका’ वि.सं २०५८ सालमा पहिलो संस्करण प्रकाशित भएको थियो सो पुस्तक सरोज मिश्रले अनुवाद गरेका थिए। २३० पेजको सो पुस्तकको मूल्य ३५०/- रहेको छ।