नेपाली साहित्य र दर्शनमा केही समयअघि नयाँ शैलीका दुई कृति ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण भएका छन्।
एक वर्ष अघिनै प्रकाशन भएको ‘सोमहोम’ प्रेम, अध्यात्म र विद्रोहको संगम भएको औपन्यासिक कथा हो भने हालसालै प्रकाशन भएको ‘जीवन वृक्ष’ जीव जगत् र चैतन्य जगतको समन्वयात्मक दर्शनको सार हो।
यी दुई कृतिका स्रष्टा डा. सुवास लोहनी स्नायु शल्यचिकित्सक हुन्, र दुवै कृति प्रकाशोन्मुख अवस्थामा पुर्याई डा सुवास यो संसारबाट प्रस्थान भएका थिए।
सोमहोम र जीवन वृक्ष दुवै कृतिमाथि मनन गर्दा ती कृति साहित्य र दर्शनका बौद्धिक रचनाभन्दा चेतनाको संसार, अध्यात्म र सृष्टिचक्र बीच समन्वयको खोजी गर्दै जाँदा लेखकका अगाडि उजागर भएका दृश्य भएझैं लाग्छन्।
सोमहोम उपन्यासमा लेखकले मूलपात्रमाथि परोक्ष रूपमा आफ्नै अस्तित्व प्रक्षेपण गर्दै उसलाई एक विश्व दर्शनका साथ उभ्याएका छन्।
उपन्यासको जुन विशेष संरचना छ त्यसबाट यसको झल्को पाइन्छ। यो संरचनाको प्रारम्भ ‘म को हुँ’ भन्ने प्रश्नको मन्थनबाट हुन्छ, र बैठान अन्तमा ‘ऊ को हो’ भन्ने प्रश्नको उत्तर दिएर भएको पाइन्छ।
बीचको मूलखण्डमा उपन्यासको खास कथा छ। प्रारम्भ र अन्तको खण्ड गध्य कविताको लयमा प्रस्तुत छ।
भाव दार्शनिक छ, र यी दुई खण्ड अन्य उपन्यासको संरचनामा पाइँदैन।
तर यही संरचनाबाट लेखकले आफैंलाई र संसारको परिस्थितिलाई अद्भुत किसिमले प्रस्तुत गरेका छन्।
जीवन वृक्ष र सोमहोम प्रस्तुतिमा फरक भए पनि दुवै कृतिमा लेखक खास विषयवस्तुमा केन्द्रित छन्।
दुबै कृति जीव जगत, चेतना, अध्यात्म र मानव अस्तित्वमाथि विमर्श गर्छन्।
सोमहोम प्रकृतिका रंग, सांसारिक जीवनको रस र आवेगले परिपूर्ण छ भने जीवन वृक्षमा आध्यात्मिक दर्शनको व्यापकता र गहिराइ छ।
यो आलेखमा विशेषगरी भर्खरै प्रकाशन भएको ‘जीवन वृक्ष’ माथि समीक्षात्मक परिचय दिने प्रयास गरिएको छ।
जीवन वृक्षमा ब्रम्हाण्डको दर्शन प्रकाशित हुन्छ। सर्जक डा. सुवास लोहनीले यो कृतिमा सृष्टिचक्र र यसको साथसाथ हुने चेतनाको विकास चक्रलाई पूर्वीय दर्शन एवं आध्यात्मिक चिन्तनबाट प्रकाश पारेका छन्।
सँगसँगै आधुनिककालका विज्ञानसम्मत धारणाहरू परापूर्वकालदेखि चल्दै आएका उपनिषद तथा पुराणका शास्त्रीय मान्यतासँग कहाँ र कसरी मिल्छन् भन्ने देखाउनु पनि लेखकको उद्देश्य रहेको छ।
लेखक स्नायु शल्यचिकित्सक हुनुको साथै अध्यात्म चिन्तन र योगाभ्यासमा पनि लागेका थिए।
सायद यिनै पृष्ठभूमिका कारण उनले यो कृतिमार्फत् दुई विपरीत धार जस्तो देखिने ज्ञान र विज्ञानका धारणालाई एउटै नदीका रंग र तरंगको रूपमा हेर्ने दृष्टि पनि हामीलाई दिएका छन्।
ज्ञानेन्द्रीयका संवेदनाले नभेट्ने आत्मा, परमात्मा र सृष्टिचक्रबारे विमर्श गर्नु र आध्यात्मिक दर्शनलाई बोधगम्य बनाउनु सजिलो कुरा होइन। तथापि लेखकले कृतिको संरचनागत ढाँचा, भाषाशैलीको चयन, अनि छानी छानी लिएका मिथक, दृष्टान्त र उपमा आदिको माध्यमबाट एउटा दुर्गम विषयलाई सुगम बनाएका छन्।
कृतिमा लेखकले प्राच्य दर्शनमा चीर परिचित रहस्य-प्रश्न-- ब्रम्हाण्ड संरचनाको पहेली--लाई नयाँ ढंगले व्याख्या गर्नुका साथै प्रस्तुति शैलीमा पनि एक नयाँ आयाम दिएका छन्।
प्रस्तुत कृतिको संरचनालाई तीन भागमा हेर्न सकिन्छ—पहिलो भागमा चराचर जगतको सृष्टि, चेतनाको प्रवेश, जीवन वृक्ष जस्ता विषयवस्तु छन्।
दोस्रो भागमा जीवन वृक्षमा निहित अवधारणाको व्यापकता र गहिराइ देखाइएको छ।
यसमा जीवन वृक्षको कल्पना, जीवन वृक्षका प्राणीबीच वसुधैव कुटुम्बकमको सम्बन्ध, चेतनाको संजाल--दिव्यनेट, चेतनाबाट सृष्टिको जन्म र संचालन हुँदै मानव शरीर र ब्रम्हाण्डको चैतन्य जगतमा भएको सम्बन्धबारे वर्णन छ।
तेस्रो अन्तिम भागमा जीवन वृक्षको दिग्दर्शनबाट मानवले आफैंलाई चिन्न ‘म को हुँ’ भन्ने प्रश्न र चैतन्य जगतको अनुभूतिबाट ‘ज्ञान प्राप्ति’ सम्मका विमर्शमा पुगी यो कृति पूर्ण हुन्छ।
यस धरतीमा सृष्टिका बारेमा विमर्श गर्दा १९ सौं शताव्दीमा आएको क्रमिक विकासवादको सिद्धान्तले आधुनिक कालको सोचलाई निर्देश गरेजस्तो देखिन्छ।
यो सिद्धान्त अनुसार चराचर जगतको सृष्टि एक जीवकोषबाट बहुजीवकोष हुँदै एकै शिराबाट प्राणी तथा वनस्पति जगतका हाँगाहरू प्राकृतिक वातावारणमा जुध्दै र अनुकूलन हुँदै पालैसँग निस्किए, र आदिमकालीन सृष्टिको अरबौं वर्षपछि अहिलेको यो विविधताको संसार निर्माण भएको भनिन्छ।
यो भनाइले सृष्टिको जीवन वृक्ष चित्रण गर्दछ र यो वृक्ष ‘विकासवाद’को जीवन वृक्ष हो।
तर आधुनिक विज्ञान सृष्टिको मूलजरो, सृष्टिचक्र र चेतनाको प्रादुर्भावबारे भने अहिलेसम्म अनभिज्ञ नै छ।
साँच्चै भन्दा अहिलेको विज्ञानले सृष्टिको गतिलाई केवल एकातर्फ अगाडि बढेको मात्र देख्दछ, यसको चक्रीय स्वभाव यदि छ भने त्यो अहिलेको विज्ञानले देख्न-बुझ्न सकेको छैन।
चेतना त विज्ञानको लागि अथाह रहस्य नै हो। यो पुस्तकको अध्ययन गर्दा लेखकको विशेष चासो र खोजी यही रहस्यमय चेतना भएको देखिन्छ।
हाम्रा हरप्रकारका सोचहरू—ती विचार प्रधान हुन् वा व्यवहार प्रधान- चेतनामा आधारित छन् भने चेतनाको स्रोत अध्यात्म छ। जब हामी यो भौतिक जगतमा चैतन्यको सम्प्रभुतालाई मान्दछौं भने यसको रहस्य खोज्नु ऋषिधर्म हुन्छ। लेखकले यही खोजीको दौडानमा चैतन्य जगतलाई बुझ्ने कडी ‘जीवन वृक्ष’मा पाए।
जीवन वृक्षको जुन कल्पना गरिएको छ, त्यो साधारण वृक्षकै जीवनबाट लिइएको बिम्व हो।
प्राकृतिक वनस्पतिको रूपमा एक बोटवृक्षको जीवनचक्र साधारण मनुष्यलाई बोधगम्य छ र ‘यथा अण्ड तथा ब्रम्हाण्ड’ भनेझैं त्यही वृक्षको जीवनलिला नै सम्पूर्ण सृष्टिको जीवनचक्र झल्काउने बिम्ब हुनु स्वाभाविक पनि हो।
यो जीवन वृक्षको सृष्टि र यसको लक्षणबाट लेखकले पाठकप्रति केही सन्देश दिन खोजेका छन्—पहिलो सन्देश हो-- सृष्टि जगतका सम्पूर्ण चराचर आपसमा निर्भर छन्, जोडिएका र जेलिएका छन्; दोस्रो-- सृष्टिको अविराम चल्ने चक्रसँगै चेतनाको चक्र पनि चलिराखेको हुन्छ, र यो चक्रमा तल्लोस्तरको चेतनाबाट उच्चस्तरको चेतनामा प्राप्त हुनु नै प्राणी जगतका लागि मोक्षको मार्ग हो।
जीवन वृक्षको कल्पना र त्यसको संरचना संसारका विभिन्न प्राचीन सभ्यता र संस्कृतिमा पाइन्छ।
लेखकले भारतीय उपमहाद्वीपका हिन्दु, जैन, बौद्ध धर्मका साथै प्राचीन मिश्र, पर्सिया र इस्लाम, अनि उत्तर युरोपको सेल्ट र दक्षिण अमेरिकाका माया र इन्का सभ्यतामा पाइने जीवन वृक्षका चित्र प्रस्तुत गर्दै हिन्दु, जैन तथा बौद्ध संस्कृतिमा जीवन वृक्षबारे बढी गहिरो चिन्तन र वर्णन भएको कुरा उल्लेख गर्दछन्।
हिन्दु तथा बौद्ध संस्कृतिमा जीवन वृक्षका विविध रूप र तदनुरूपका वर्णन छन्।
जीवन वृक्षलाई कहीँ वनस्पतिदेव (ऋग्वेद), कहीँ कल्पवृक्ष, स्कम्भ (अथर्ववेद), मेरु अनि ज्योतिर्लिङ्गका रूपमा पाइन्छ भने कहीँ बोधिवृक्ष (बौद्ध) को रूपमा।
मेरूको कल्पनामा यसको संरचना पातालदेखि धरती र आकाश हुँदै विविध भुवनचक्रको सृष्टि र ती सृष्टिलाई स्थिरता दिने उर्ध्वगामी स्तम्भको रूपमा वर्णन गरिन्छ।
यही मेरू हिन्दु समाज र संस्कृतिका लोकायत निर्माणमा जलासयको मध्यभागमा अथवा सहर-बस्तीको चोक-प्राङ्गणमा युप या मौलो, अथवा अझ मन्दिरकै रूपमा पाइन्छ भने बौद्धधर्मका स्तुप संरचनामा अण्डाकारको गर्भगृहबाट माथि छत्रसम्म उधिनेर जाने एक ठूलो काठको खम्बाको रूपमा पाइन्छ जसलाई संस्कृतमा ‘युप’ या ‘यष्टी’ भनिन्छ।
अझै सूक्ष्म तहमा जाँदा मानव शरीरको मेरूदण्ड यही अर्थमा प्रयोग भएको कुरालाई जोड्दै लेखकले जीवविज्ञानले देखाएको मेरूदण्डको स्नायु प्रणाली र संरचना कसरी जीवन वृक्षसँग तादात्म्यता राख्छ भन्ने कुरा सचित्र प्रस्तुत गर्छन्।
यस प्रसंगमा बौद्धधर्ममा वर्णन भएको ३१ लोक र मेरूदण्डबट निस्कने ३१ जोडी नसाको एक चाखलाग्दो सामन्जस्यतालाई पनि अगाडि राखेका छन्। त्यसका साथै स्नायु चिकित्साशास्त्रबाट हामी थाहा पाउछौं कि मेरूदण्ड नै शरीरमा चेतनाको संचार गर्ने मूल माध्यम हो।
यसरी जीवात्माको शरीर जस्तो सूक्ष्म तहदेखि ब्रम्हाण्ड संरचनासम्मको बिम्ब बनेको जीवन वृक्षमा चराचर जगत् वृक्षको मूलकाण्डबाट प्रशारित भई मुलकाण्डबाटनै पोषित हुन्छन् भने तिनीहरूको रूपमा देखिने विविध वैयक्तिक अस्तित्व र स्थिरता पनि त्यही मूलकाण्डमा नै आधारित छ।
चराचर जगतको जीवन वृक्षसँग अवच्छिन रहेको यो सम्बन्ध नै लेखकले यस पुस्तकमा प्रकाश पार्न खोजेको दोस्रो पक्ष हो।
यस सम्बन्धमा थप प्रकाश पार्न लेखकले मस्तिष्कका अझै सूक्ष्म प्रणालीको संरचना अगाडि राख्छन्।
मस्तिष्कका स्नायु प्रणालीमा हरेक स्नायु तन्तुको शीरोभाग अर्कोको पृष्ठभागसँग जोडिएको हुन्छ। यसरी सम्पूर्ण स्नायु तन्तुहरू एक आपसमा जेलिएर मानव शरीरमा चेतनाको संचार हुन्छ।
साधारण वृक्षमा वृक्षको एक हाँगाको टुप्पो या त्यसमा लाग्ने फल या पुष्पपत्र रूपमा मात्र हेर्दा अर्को हाँगाको टुप्पो या फलसँग आपसमा जोडिएको देखिँदैन।
तर जीवन वृक्षको कल्पनामा तिनीहरू स्नायु तन्तुमा पाइएझैं जेलिएका हुन्छन् र त्यो जाल अरू घनिभूत पनि हुन्छ, अर्थात् सृष्टिका प्रत्येक अस्तित्व अन्य प्रत्येक अस्तित्वसँग जोडिएको हुन्छ।
बौद्ध दर्शनमा यो अवधारणालाई महनिय रूपमा आत्मसात गरेको पाइन्छ।
चीनको ‘ह्वा-यान्’ बौद्ध सम्प्रदायको एक अत्यन्त महत्वपूर्ण सुत्र ‘प्रत्येकमा सम्पूर्ण र पूर्णमा प्रत्येक अवस्थित हुन्छ’ भन्ने छ।
यो दर्शन ‘अवतम्सक सूत्र’मा वर्णन गरिएको ‘इन्द्रजाल’बाट आएको भनिन्छ।
यो इन्द्रजालको संरचनाको वर्णन अनुसार जालको हरएक ग्रन्थीमा मणि राखिएको हुन्छ र ती प्रत्येक मणिका बीच प्रकाशको आवर्तन र परावर्तन निरन्तर ओहोरदोहोर भइराख्छ र जाल जाज्वल्यमान हुन्छ।
यो जालको बनोटबाट अर्को रहस्य पनि उद्घाटन हुन्छ — यस्तो संरचनाको कुनै पनि एक ग्रन्थी चुँडायो भने जालका अरू ग्रन्थी पनि फुस्किँदै जान्छन्। र अन्तमा यो प्रलय हुन्छ।
यस्तो संरचना ज्यामितीय सिद्धान्तबाट देखाइएको पनि छ।
बौद्ध दर्शनमा चराचर जगतका वैयक्तिक अस्तित्वहरूको एक-आपसमा हुने यस प्रकारको निर्भरताको सम्बन्धलाई ‘प्रतित्य समुत्पाद’ भन्दछन, र भनिन्छ यो बौद्ध दर्शनको अन्तिम रेखा हो।
जीवन वृक्षले दर्शाउने चराचर जगतको यो सम्बन्धलाई लेखकले विशेष ध्यान दिन्छन र कृतिको अन्तर्निहित उद्देश्य र मर्म प्रकाशन गर्दछन्।
उनी भन्छन्—जीवन वृक्षमा देखिने चराचर जगतको जुन सापेक्षिक वैयक्तिक अस्तित्व छ, त्यो इन्द्रियगम्य सांसारिक रूप हो भने तिनको आपसी अन्तर्निभरतालाई देख्नु सृष्टि जगतको पूर्णतालाई जान्नु हो, र जीवन वृक्षको संरचनालाई सारभूतरूपमा चिन्नु पनि हो। तर सांसारिक अस्तित्वमा भुल्दा हामी यो सृष्टिको जीवन वृक्षमा कसरी अडिएका छौं भन्ने कुरा महसुस गर्न सक्दैनौं। त्यसको अनुभूति हुन ‘ध्यान’को आवश्यकता छ भनि लेखक हामीलाई अन्तर्मुखी हुनका लागि आह्वान गर्छन् र यस प्रसंगमा मान्डूक्य उपनिषदले इंगित गरेको ‘म को हुँ’ भन्ने प्रश्न र त्यसको उत्तरलाई अघि सार्छन्। त्यहाँ बताइन्छ कि ‘म’ चैतन्य जगतको तरङ्ग ‘ओमकार’ को ध्वनि हो, चेतना हो। जागृत, स्वप्न र सुषुप्त स्थितिलाई जनाउने ‘अ’, ‘उ’ र ‘म’ ओम् तत्वको रूप भेद हुन्, ‘ओम्’ को ध्वनि ती तीन रूपको समष्टि हो र सार पनि। ध्यानस्थ एकाग्र मनले नै यो सारतत्वको अनुभूति गर्न समर्थ हुन्छ।
यसरी सांसारिक अस्तित्वबाट चैतन्य जगतको अस्तित्व बोध गराउँदै लेखक सृष्टिजगतको चक्र र चेतनाको यात्रा सँगसँगै चल्ने कुरा राख्द्छन्।
उनी भन्छन्—चेतनाको यात्रा उकालो हुन्छ, पहाड चढेजस्तो तलको खुड्किलो टेक्दै एक एक गरी माथि जानुपर्छ।
पहाडको चुचुरो गन्तव्य हो तर त्यो गन्तव्य चलायमान छ। जसरी वर्षा पानीको जलचक्र चलिराख्छ, त्यस्तै गरी संसार सृष्टिको चक्र चलिराख्दछ र यही संसारलाई वाहन बनाएर अध्यात्म चेतनाको चक्र पनि चलिराख्छ।
वर्षाको पानी अन्तमा गएर सञ्चय हुने समुद्रको अस्तित्व भएझैं लेखक सृष्टिको सार तत्वमा ज्योतिर्लिंग स्वरूप चैतन्य को अस्तित्वमा विश्वास गर्दछन्।
जीवन वृक्षको यो दर्शनमा लेखक अरू अगाडि भन्छन्-- चराचर जगतको जीवन वृक्ष चैतन्यले मण्डित छ।
प्राणीको मोक्ष प्राप्तिको मार्ग जीवन वृक्षबाट पोषित र प्रकाशित हुँदै चेतनाको सिँढी चढ्नु हो।
यो जीवन र आउने जुनीजुनीमा ति सिँढी पार गर्दै अन्तमा चैतन्य जगतमा समाहित हुनु हो।
यस कृतिले पूर्वीय दर्शन र संस्कृतिका आध्यात्मिक मान्यतालाई जीवन वृक्षको बिम्बबाट संश्लेषण गरेको छ।
कृतिको हरेक अनुष्ठान सचित्र प्रस्तुत गरिएको छ।
हरेक अध्यायका हरेक पृष्ठको बायाँतर्फ आध्यात्मिक दर्शनका सरलीकृत भाष्य वा आधुनिक विज्ञानबाट प्राप्त जानकारी वा मानवीय अनुभूतिका केही हरफ छन्, र दायाँतर्फ त्यससँग सम्बन्ध राख्ने चित्र छ।
चित्रमा प्रकृति, जीवन, विज्ञान र हाम्रा संस्कृतिका परिचित विम्बहरू नै छन्, जसले चेतनालाई जीवन्त रूप दिँदै भावनासँग जोड्दछन् र तत्व दर्शन ग्रहण गर्नमा पाठकलाई अरू सहजता मिल्दछ। भनाइ छोटो र सरल छ, तर सार खिचेर राखेको पाइन्छ। ती भनाइ र धारणामा विस्तृत विमर्श हुन सक्ला तर लेखकले सरल प्रस्तुतिलाई ध्यान दिई साधारण पाठकवर्गलाई कठिन मानिने आध्यात्मिक दर्शनको गहिराइमा जान र ग्रहण गर्न सहज मार्ग बनाएको अनुभव हुन्छ।
यस कार्यबाट लेखकमा भएको विशिष्ट स्तरको सृजना र सम्बादकला झल्किन्छ।
जीवन वृक्ष कृतिमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति संस्कृतिविद प्राध्यापक डा. श्री जगमान गुरूङले कृतिको प्रस्तुतिमा दर्शन र कलाको अनुपम संयोजन भएको उल्लेख गर्दै मन्तव्य राख्नु भएको छ भने गुरू रामचन्द्र पण्डितले पनि उक्त प्रस्तुति शैलीको विशेष चर्चा गर्नु भएको छ।
त्यस्तै प्राकृतिक चिकित्साका अन्वेषक श्री हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ले आफ्नो समीक्षामा कृतिको योगदान सांस्कृतिक र आध्यात्मिक मिलनको खोजीमा कोसेढुंगा सावित हुने धारणा राख्नुहुन्छ।
प्राच्य आध्यात्मिक दर्शनको बिम्ब जीवनवृक्षबाट हामी प्राणी सबैको भौतिक अस्तित्व र चेतना अन्तरनिर्भर छ र हरेक प्राणीले चेतनाको सिँढी निरन्तर चढ्नु छ भन्ने सन्देश यस कृतिबाट पाठकसामु पुग्न सकेमा लेखकको प्रयास स्तुत्य हुनेछ।
प्राच्य दर्शनको महत्वपूर्ण सारलाई सरल भाषामा व्यक्त गर्दै सचित्र प्रस्तुत यो पुस्तक अध्यात्म दर्शनमा थोरैमात्र चाख राख्नेहरूका लागि र विद्यालय पुस्तकालयका लागि पनि संग्रहणीय छ।