सञ्चारकर्मी भक्त स्याङ्तानको कथा संग्रह 'डम्फुको आत्मालाप' सार्वजनिक भएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्राध्यापक अरुण गुप्तो, निबन्धकार कुमारी लामा र सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले कथा संग्रह 'डम्फुको आत्मलाप' सार्वजनिक गरेका हुन्।
यो किताब सांग्रिला बुक्सबाट प्रकाशन भएको हो।
कार्यक्रममा बोल्दै प्राध्यापक अरुण गुप्तोले 'डम्फुको आत्मालाप' आमपाठकले नबुझ्ने तामाङ सभ्यताका विम्ब र चित्रलिपिहरू सहजै बुझिनेगरी लेखिएको एक किसिमको दस्तावेज भएको बताए।
सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले भने, 'डम्फूको आत्मालाप तामाङ समुदायको आत्मा हो, तामाङको मर्म हो, तामाङको इतिहास पनि हो। यो कथा संग्रहले नेपाली साहित्यलाई नै मजबुत बनाउँछ।'
उनले यो कथा संग्रहले तामाङ समुदायका संस्कृति, पहिचान र जरो बुझ्न सघाउने बताए।
'डम्फुको आत्मालाप' लाई निबन्धकार कुमारी लामाले नाराबाजी नगरीकन, नचिच्याइकन शालीन ढंगले आफ्नो पहिचानको दाबीलाई सशक्त ढंगले प्रस्तुत गरिएको कृतिका रूपमा लिनुपर्ने बताइन्।
उनले भनिन्, 'तामाङ संस्कृति अध्ययनका लागि यो पुस्तक उत्तिकै उपयोगी छ।'
आफ्नो पहिलो कथा संग्रह लिएर आएका लेखक भक्त स्याङ्तानले आफूले देखेका, भोगेका, भेटेका र सुनेका कथाहरूलाई नै उनेर यो संग्रह तयार पारेको बताए।
कथा संग्रहमा लुङ्दर, छ्योर्तेन, न्होरला, डम्फुको आत्मालाप, म्लाङगैको आपा आदि शीर्षकका तामाङ समुदायका पात्रलाई केन्द्रमा राखेर लेखिएका ११ वटा कथा संग्रहित छन्।
२ सय २३ पृष्ठको कथा संग्रहको मूल्य ४ सय ७५ रूपैयाँ छ।