साहित्यकार अनल गौतमले एकसाथ दुई वटा पुस्तक सार्वजनिक गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गौतमको उपन्यास 'बार्दली' र कथा संग्रह 'दाहिने हाते सिक्का र साइकल' लोकार्पण गरिएको हो।
हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणालगायतले पुस्तकहरू लोकार्पण गरेका हुन्।
समारोहमा लेखक गौतमलाई बधाई दिँदै कलाकार श्रेष्ठले गौतमका उपन्यास तथा कथा संग्रह रोचक र समयसामयिक लागेको बताए।
उपन्यास 'बार्दली'
लेखक गौतमको यसअघिको उपन्यास 'लभ एट २५' को दोश्रो भागको रूपमा लेखिएको उपन्यास हो- 'बार्दली'। यो उपन्यासमा एक जना संर्घषशील युवाको कथा समेटिएको छ। पहाडबाट काठमाडौं झरेको एउटा विद्यार्थी, युवाको मेहेनत, उसको जीवनमा आउने उतार-चढाव तथा त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित यो उपन्यासले हालका युवा वर्गले भोगेका अनेकौं अनुभवहरू समेटिएको छ।
कथा संग्रह 'दाहिने हाते सिक्का र साइकल'
कथा संग्रह 'दाहिने हाते सिक्का र साइकल' मा कुल ११ वटा कथाहरू समावेश गरिएको छ। यो कथा संग्रहमा साहित्यकार गौतमले बाल्यवस्थाका कथादेखि लिएर यौवन अवस्थाका मानवीय संवेदनामा आधारित कथाहरू समावेश छन्।
यी दुवै पुस्तक ऐरावती प्रकाशनले प्रकाशन गरेको हो।
गौतमका यसअघि हाईकु संग्रह 'शुभ प्रभात', कविता संग्रह 'चिनार', कथोपन्यास 'घाट घाटका कथा' र गीति संग्रह 'सरसी' प्रकाशन भइसकेका छन्।