नेपाली कांग्रेसका युवा नेता कैलाश कोइरालाको उपन्यास 'राजव्यूह' शनिबार सार्वजनिक गरिएको छ।
भरतपुरमा गरिएको एक कार्यक्रममा उनकी आमा पार्वती कोइराला, दाइ विकास कोइराला, नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानिया, बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी लगायतले संयुक्त रूपमा विमोचन गरे।
कांग्रेस चितवनका पूर्वउपसभापति कोइरालाले उपन्यासमार्फत राजनीतिमा हुने सकारात्मक, नकारात्मक विषयहरू उजागर गर्ने प्रयास गरेका छन्। राजनीतिमा हुने चलखेल, लेनदेन जस्ता सत्य र काल्पनिक विषयहरूलाई उनले उपन्यासमा समावेश गरेका छन्।
समीक्षक उदय अधिकारीले राजव्यूह एक राजनीतिक उपन्यास भएको बताए।
'उपन्यासमार्फत उहाँले आफ्नो आदर्श, सिद्धान्त स्पष्ट पार्नुभएको छ। यो दार्शनिक चेतले भरिएको छ। यसमा समावेश भएका पात्रहरूले राजनीतिक व्यक्तिहरूका कथा बोल्छन्,' अधिकारीले भने, 'राजनीतिका सकारात्मक, नकारात्मक पाटाहरूलाई उपन्यासले उजागर गर्छ।'
लेखक कोइरालाले आफ्ना मनका भावनाहरूलाई उपन्यासमार्फत सार्वजनिक गरेको बताए।
कोइराला नेपाली कांग्रेस बागमती प्रदेश समितिका सदस्य हुन्। उनी अघिल्लो कार्यकालमा कांग्रेस चितवनका उपसभापति थिए। १४ औं महाधिवेशनमा उनी चितवन जिल्ला सभापतिका उम्मेदवार थिए। उनी नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय इकाइको सभापति पनि भएका थिए।
राजव्यूह उपन्यास आरती शर्मा कोइरालाले प्रकाशन गरेकी हुन्।