अभिनेता सलमान खानको फिल्म 'ब्याटल अफ गलवान' को नाम परिवर्तन गरेर 'मातृभूमिः मे वार रेस्ट इन पिस' राखिएको छ।
सलमानले सोमबार एक नयाँ पोस्टर र ट्यागलाइन सार्वजनिक गर्दै यस्तो घोषणा गरेका गरेका थिए। यसरी शीर्षक परिवर्तन गर्नुको कारणबारे भारतीय मिडियाले विभिन्न दाबी गरेका छन्।
बलिउड हंगामाको एक रिपोर्टले एक स्रोतलाई उद्धृत गर्दै शीर्षक परिवर्तन गर्नुको मुख्य कारण यसको चीनविरोधी सन्देशलाई कम गर्नु रहेको दाबी गरेको छ।
सुरूआतमा फिल्म प्रत्यक्ष रूपमा गलवान उपत्यका झडपमा केन्द्रित रहेकाले त्यसले राजनीतिक र कूटनीतिक संवेदनशीलता बढाउने चिन्ता व्यक्त गरिएको थियो।
मिडिया रिपोर्ट अनुसार फिल्मको टिमलाई केही आधिकारिक र रणनीतिक क्षेत्रबाट शीर्षकमा पुनर्विचार गर्न मात्र नभई चीन विरोधी भागहरूलाई पनि कम गर्न सल्लाह दिइएको थियो। निर्माण टिमलाई शीर्षक र कथावस्तु दुवैलाई सन्तुलित बनाउन सुझाव दिइएको बताइएको छ।
सोही सुझावपछि फिल्मको नाम 'मातृभूमि' राख्दै कथालाई आंशिक रूपमा काल्पनिक बनाइएको बताइएको छ।
यससँगै फिल्ममा केही दृश्य पुनः छायांकन र पटकथामा समेत परिवर्तन गरिएको भारतीय मिडियाको दाबी छ। नयाँ शीर्षकले प्रत्यक्ष द्वन्द्वभन्दा देशभक्ति र भावनात्मक पक्षलाई बढी प्राथमिकता दिने संकेत गरेको विश्लेषण गरिएको छ।
सलमान खान फिल्मस्को प्रस्तुति रहेको 'मातृभूमि' को निर्देशक अपूर्व लाखिया हुन्। निर्मातामा सलमा खान छिन्।
फिल्ममा सलमान खान र चित्रांगदा सिंह मुख्य भूमिकामा छन्। यसमा सलमानले भारतीय सेनाका एक कर्णेलको भूमिका निर्वाह गरेका छन्। साथमा जेन श, अंकुर भाटिया, विपिन भारद्वाजसहित नेपाली अभिनेता अनुपविक्रम शाहीको समेत अभिनय छ।
नयाँ पोस्टरमा यसको रिलिज मिति उल्लेख छैन। जसका कारण यसअघि अप्रिल १० मा रिलिज हुने तालिका रहेको फिल्म उक्त मितिमा आउने सम्भावना कम रहेको देखिन्छ।
