फिल्म 'कान्तारा च्याप्टर १' को सफलतापछि कन्नड अभिनेता ऋषभ शेट्टी 'आईएमडीबी' को सर्वाधिक लोकप्रिय भारतीय सेलिब्रेटीहरूको सूचीमा शीर्ष स्थानमा पुगेका छन्।
बुधबार आईएमडीबीले आफ्नो साप्ताहिक सर्वाधिक लोकप्रिय भारतीय सेलिब्रेटीहरूको सूची जारी गर्यो, जुन प्रशंसकहरूको प्राथमिकताका आधारमा निर्धारण गरिन्छ। गत हप्ता तेस्रो स्थानमा रहेका ऋषभले अहिले शीर्ष स्थान हासिल गरेका छन्।
ऋषभले जुनियर एनटीआर, एसएस राजामौली र उनका नजिकका मित्र रक्षित शेट्टीलाई पछि पार्दै यो स्थान ओगटेका हुन्। उनको पछि ‘कान्तारा च्याप्टर १’ की प्रमुख अभिनेत्री रूक्मिणी वसन्त छिन्।
आईएमडीबी फिल्मको डेटा संकलन गर्ने विश्वप्रसिद्ध पोर्टल हो।
सूचीमा अन्य सेलिब्रेटीहरूमा छैटौं स्थानमा मोना सिंह, एघारौँमा ऋतिक रोशन, पन्ध्रौँमा श्रद्धा दास, तेईस्रौँमा जान्हवी कपूर, पच्चीसौंमा कियारा आडवाणी र चौवालिसौं स्थानमा कोंकणा सेन शर्मा रहेका छन्।
फिल्म 'कान्तारा च्याप्टर १' बक्स अफिसका धेरै रेकर्डहरू तोड्दै यस वर्षको दोस्रो सर्वाधिक कमाई गर्ने भारतीय फिल्म बन्न सफल भएको छ। यसले विश्वव्यापी रूपमा ६५७ करोड भारू र भारतमा (खुद) ४६५.९ करोड भारू ग्रस कमाई गरेको छ।
फिल्मको सफल प्रदर्शन जारी रहँदा ऋषभले यस हप्ता आईएमडीबीको सर्वाधिक लोकप्रिय भारतीय सेलिब्रेटीहरूको सूचीमा शीर्ष स्थान हासिल गरेर अर्को उपलब्धि हासिल गरेका हुन्।
ऋषभ शेट्टीद्वारा लिखित तथा निर्देशित र होम्बाले फिल्म्सद्वारा निर्मित 'कान्तारा च्याप्टर १' मा रूक्मिणी वसन्त, गुलशन देवैया र जयराम रवि पनि मुख्य भूमिकामा छन्।