बि.आर. चोपडाको 'महाभारत' मा कर्णको भूमिका निर्वाह गरेका चर्चित अभिनेता पंकज धीरको निधन भएको छ।
बुधबार ६८ वर्षको उमेरमा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार पंकज लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए।
एक समयमा उनको स्वास्थ्यमा केही सुधार भए पनि केही महिनाअघि पुनः रोग देखापरेको थियो।
पछिल्लो समय अत्यन्त अस्वस्थ भएका पंकजको शल्यक्रिया पनि भएको थियो। उनी पछिल्ला केही महिनादेखि पटक पटक अस्पताल भर्ना भइरहेका थिए।
पंकजले धेरै हिन्दी फिल्म र टेलिभिजन शृंखलामा अभिनय गरेका छन्।
उनलाई सबभन्दा बढी 'महाभारत' मा कर्णको भूमिकाकै लागि चिनिन्छ।
उनले 'चन्द्रकान्ता', 'द ग्रेट मराठा', 'युग' र 'बढो बहू' जस्ता लोकप्रिय धारावाहिकमा पनि अभिनय गरेका थिए। त्यस्तै 'सडक', 'सोल्जर' र 'बादशाह' जस्ता चर्चित फिल्महरूमा देखिएका थिए।
उनका श्रीमती अनीता र छोरा निकितिन छन्। निकितिन पनि अभिनेता हुन् जसले अभिनेत्री क्राटिका सेनगरसँग बिहे गरेका छन्।