भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार आफ्नो ७५ औं जन्मदिन मनाइरहेका छन्।
यस अवसरमा चर्चित कलाकारहरूले शुभकामना सन्देश दिएका छन् भने नयाँ गीत सार्वजनिक गरिएको छ। जन्मदिनको अवसर पारेर बायोपिकको पनि घोषणा गरिएको छ।
मोदीको जीवन यात्रामा आधारित बायोपिक 'मा वन्दे' को घोषणा गरिएको हो। वीर रेड्डी एमद्वारा निर्मित यस फिल्ममा मलयालम अभिनेता उन्नी मुकुन्दनले प्रधानमन्त्रीको भूमिका निभाउनेछन्।
फिल्मले मोदीको बाल्यकालदेखि राष्ट्रिय नेतृत्वसम्मको यात्राको वर्णन गर्नेछ, साथै उनको आमा हीराबेन मोदीसँगको सम्बन्धलाई पनि उजागर गर्ने जनाइएको छ।
मोदीको जन्मदिनमा बलिउड अभिनेता शाहरूख खान, आमिर खान, अभिनेत्री आलिया भट्टलगायतले भिडिओ सन्देश साझा गर्दै शुभकामना दिएका छन्।
एएनआई मार्फत सार्वजनिक गरिएको भिडिओ सन्देशमा अभिनेता शाहरूखले भने, 'आज प्रधानमन्त्री मोदीको ७५ औं जन्मदिनको अवसरमा म उहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। सानो सहरबाट विश्वव्यापी मञ्चसम्मको उहाँको यात्रा धेरै प्रेरणादायक छ। उहाँको अनुशासन, कडा परिश्रम र देशप्रतिको समर्पण यस यात्रामा देख्न सकिन्छ। ७५ वर्षको उमेरमा पनि उहाँको ऊर्जाले हामीजस्ता युवाहरूलाई पनि जित्छ। म प्रार्थना गर्दछु कि उहाँ सधैं स्वस्थ र खुसी रहनुहोस्।'
त्यस्तै, आमिरले पनि भिडिओ मार्फत आफ्नो शुभकामना व्यक्त गर्दै भनेका छन्, 'हाम्रो देशको विकासका लागि तपाईंले जुन योगदान दिनुभएको छ, त्यो सधैं याद गरिनेछ। म यो पनि प्रार्थना गर्दछु कि भगवानले तपाईंलाई सधैं शक्ति दिनुहोस्।'
आलिया भट्टले पनि एक भिडिओमा सन्देश साझा गर्दै भनेकी छन्, 'प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई जन्मदिनको धेरै धेरै शुभकामना। तपाईंको नेतृत्वले हाम्रो महान राष्ट्रको भविष्यलाई निरन्तर आकार दिँदै अझ बढी प्रगति तर्फ डोर्याओस्।'
जन्मदिनको अवसर पारेर संगीतकार र गायक शंकर महादेवनले 'वन्दनीय है देश मेरा' शीर्षकको नयाँ गीत सार्वजनिक गरे। एक्समा गीत साझा गर्दै उनले लेखेका छन्, 'हाम्रा प्रिय प्रधानमन्त्रीलाई जन्मदिनको धेरै धेरै शुभकामना! नेतृत्व र प्रेरणाको लागि धन्यवाद। यो गीत तपाईं र हाम्रो महान राष्ट्रलाई समर्पित छ।'
मोदीलाई फिल्म उद्योगका अन्य दिग्गजहरूले पनि सामाजिक सञ्जालमा शुभकामना दिएका छन्। अभिनेता अजय देवगन, सुपरस्टार रजनीकान्तलगायते पनि शुभकामना दिए।