भारतीय सिरिज 'पञ्चायत' को नयाँ सिजनको दर्शकमाझ व्यग्र प्रतिक्षा छ। 'पञ्चायत' सिजन ४ को बुधबार मात्रै ट्रेलर सार्वजनिक गरियो, जसले यतिबेला दर्शकबाट माया पाइरहेको छ।
ट्रेलरसँगै यो सिजन रिलिज मिति समेत सार्वजनिक गरिएको छ। सुरूमा जुलाई २ मा रिलिज हुने भनिएको थियो। फ्यान-भोटिङ अभियानपछि प्रिमियर मिति जुन २४ मा सारिएको छ। नेपाली मिति अनुसार आउँदो असार १० बाट ओटिटी प्लेटफर्म अमेजन प्राइममा 'पञ्चायत' रिलिज हुनेछ। भारत र अन्य २ सय ४० देशमा ओटिटी प्लेटफर्ममा सिरिज हेर्न सकिने जनाइएको छ।
कमेडी ड्रामा 'पञ्चायत' को यो सिजनमा पनि यसअघिका धेरै कलाकारहरूकै निरन्तरता छ। जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय, र पंकज झा आफ्नो भूमिकामा छन्।
सार्वजनिक ट्रेलरले चुनावको मौसमले गाउँमा ल्याउने अराजकताको झलक दिन्छ, जहाँ मञ्जु देवी (नीना गुप्ता) र क्रान्ति देवी (सुनीता राजवार) गाउँको अर्को 'प्रधान' बन्नको लागि लडिरहेका हुन्छन्।
प्राइम भिडिओ इण्डियाको प्रस्तुति रहेको 'पञ्चायत' का निर्देशक अक्षत विजयवर्गीय र दीपक कुमार मिश्रा हुन्। सिर्जना दीपक कुमार मिश्र र चन्दन कुमारको हो भने चन्दन कुमारले लेखेका हुन्।
'पञ्चायत' का प्रत्येक सिजनलाई दर्शकले निकै रूचाएका छन्।