दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म 'हरिबहादुरको जुत्ता' को छायांकन सकिएको छ।
२९ दिन लगाएर फिल्मको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो। फिल्मका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रूपमा फिल्मको छायांकन सम्पन्न भएको जानकारी दिए।
हरिवंश भन्छन्, 'निर्देशक दीपेन्द्र के खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन गर्यौ। हाम्रो टिम एकदम राम्रो बन्यो। सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाडै छायांकन सम्पन्न गर्न सफल हुन् पुग्यौ।'
उनले गीतहरूको पार्ट पनि सहज रूपमा चाडै छायांकनको काम सम्पन्न हुने विश्वास राखेका छन्। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज ओली र मोहित वंश आचार्य निर्माताको रूपमा रहेका छन्। फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिव्यदेव पन्त, तारा शर्मा, दिनेश काफ्ले, सिता न्यौपानेलगायत कलाकारको अभिनय छ।
फिल्म दसैंको फूलपातीमा नै रिलिज हुने निर्माता सरोज ओलीले जानकारी दिएका छन्। उनले सम्पूर्ण काम सकेर दसैंको फूलपातीमा नै फिल्म रिलिज हुने बताएका हुन्।