बलिउड अभिनेता विक्की कौशल अभिनीत फिल्म 'छावा' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार ‘छावा’ ले ६ दिनमै २०३ करोड भारू कमाएको छ।
३१ करोड भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ३७ करोड, तेस्रो दिन ४८ करोड ५० लाख, चौथो दिन २५ करोड ७५ लाख, पाँचौं दिन २४ करोड ५० लाख र छैटौं दिनमा ३२ करोड भारू कमाएको हो।
यो फिल्मको बजेट १३० करोड भारू बताइएको छ।
लक्ष्मण उतेकर निर्देशित फिल्ममा विक्कीसँगै रश्मिका मन्दाना, अक्षय खन्ना, आशुतोष राणा, दिव्या दत्तालगायत कलाकारको अभिनय छ।
विक्की र निर्देशक लक्ष्मणको यो दोस्रो सहकार्य हो। उनीहरूले सन् २०२३ मा रिलिज भएको फिल्म 'जरा हटके जरा बचके' मा एकसाथ काम गरेका थिए। लक्ष्मण उतेकरले 'मिमी' र 'लुका छुपी' जस्ता फिल्ममा निर्देशन गरेका छन्।