पछिल्लो समय पुराना बलिउड फिल्म हलमा प्रदर्शन भइरहेका छन्। रि-रिलिज गरिएका केही फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन्।
'लैला मजनू' ले रि-रिलिजमा खुब कमाइ गरेको छ। अब 'सनम तेरी कसम' लाई दर्शकले खुब साथ दिइरहेका छन्। यो फिल्म २०१६ मा प्रदर्शन भएको थियो। समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्म बक्सअफिसमा असफल भएको थियो।
२५ करोड भारूमा बनेको यस फिल्मले ९ करोड १० भारू कमाएको थियो। तर टेलिभिजन र युट्युबमा रिलिज भएपछि यस फिल्मले निकै चर्चा पाएको थियो। राम्रो चर्चा पाएपछि यो फिल्म गत शुक्रबारदेखि हलमा रि-रिलिज गरिएको छ। रि-रिलिज भएको दुई दिनमै आफ्नो पुरानो रेकर्ड तोडेको छ।
भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार पहिला ९ करोड १० लाख भारू कमाएको फिल्मले रि-रिलिज हुँदा मात्र दुई दिनमा ९ करोड ५० लाख भारू कमाएको छ।
राधिका राव र विनय सप्रूले निर्देशन गरेको फिल्ममा हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होकेनको मुख्य भूमिका छ। केही समयअघि यसको दोस्रो शृंखलासमेत बन्ने घोषणा भइसकेको छ।