बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले घरेलु बक्स अफिसमा तीन दिनमा १८० करोड ४५ लाख भारू कमाएको छ। यो हिन्दी संस्करणको मात्रै कमाइ हो।
६५ करोड ५० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४६ करोड २३ लाख र तेस्रो ६८ करोड ७२ लाख भारू कमाएको हो।
योसँगै फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। 'जवान' ले शाहरूख खानकै फिल्म 'पठान' लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। 'पठान' को हिन्दी संस्करणले तीन दिनमा १६१ करोड भारू कमाएको थियो।
'जवान' ले तमिल र तेलुगु संस्करणमा तीन दिनमा २५ करोड ६१ लाख भारू कमाएको छ। फिल्मले तमिल र तेलुगु संस्करणमा ९ करोड ५० लाख, दोस्रो दिन ७ करोड र तेस्रो दिन ९ करोड ११ लाख भारू कमाएको हो।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले विश्वभरबाट तीन दिनमा ३५० करोड भारू कमाएको छ।
एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।
फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।