सिक्किमको हिमाली गाउँलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको नेपाली भाषाको फिल्म 'शेप अफ मोमो'लाई भारतीय अभिनेता तथा निर्माता राणा दग्गुबातीको कम्पनी स्पिरिट मिडियाले भारत र नेपालमा वितरण गर्ने भएको छ।
त्रिवेणी राईको निर्देशनमा बनेको फिल्म मे २९ (जेठ १५) देखि प्रदर्शन हुने तयारीमा छ। यो फिल्ममा जोया अख्तर, रीमा कागती र पायल कपाडिया कार्यकारी निर्माताका रूपमा जोडिएका छन्।
बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा पुरस्कार जित्न सफल यो फिल्मले एउटै परिवारका विभिन्न पुस्ताका महिलाहरूको जीवन, उनीहरूको भावनात्मक सम्बन्ध, मौनता र दैनिक संघर्षलाई चित्रण गरेको छ। साथै, घरप्रतिको सम्बन्ध-कहिलेकाहीँ आश्रय र कहिलेकाहीँ बन्धन बन्ने अवस्थालाई पनि फिल्मले प्रस्तुत गर्ने बताइएको छ।
फिल्ममा भानुमाया राई, गौमाया गुरूङ, पशुपति राई, राहुल मुखिया, श्यामाश्री शेर्पालगायत कलाकारहरूको अभिनय छ। फिल्मको ट्रेलर हालै युट्युबमा सार्वजनिक छ।
'शेप अफ मोमो' डल्ले खुर्सानी प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो भने कथकला फिल्म्ससँग सह-निर्माण गरिएको छ। फिल्मको कथा निर्देशक त्रिवेणी राईले किसलयसँग मिलेर लेखेकी हुन्।
निर्देशक त्रिवेणी राईका अनुसार यो फिल्म उनको वरिपरिका महिला र उनीहरूका अनुभवबाट प्रेरित छ।
उनले भनेकी छन्, 'हामीले ठूलो पर्दाका लागि फिल्म बनाएका हौं, तर स्वतन्त्र फिल्महरूले भोग्ने चुनौतीबारे पनि हामी जानकार छौं। यस्तो अवस्थामा फिल्मलाई प्रदर्शनको अवसर मिल्नु निकै अविश्वसनीय र सन्तोषजनक अनुभव हो। स्पिरिट मिडिया स्वतन्त्र र सिर्जनात्मक सिनेमालाई स्थान दिने थोरै भारतीय स्टुडियोमध्ये एक हो, र हामीले यसभन्दा राम्रो सहकार्यको अपेक्षा गर्न सक्दैनथ्यौं।'
राणा दग्गुबातीले फिल्मलाई 'शान्त तर शक्तिशाली' भन्दै निर्देशक त्रिवेणी राईको दृष्टिकोणलाई फरक र प्रभावशाली बताएका छन्। उनले भनेका छन्, 'स्पिरिट मिडियाले सधैं आफ्नो परिवेशसँग गहिरो रूपमा जोडिएका र भावनात्मक इमानदारीसहित प्रस्तुत गरिएका कथाहरूलाई प्राथमिकता दिन्छ। ‘शेप अफ मोमो’ त्यही भावनाको उत्कृष्ट उदाहरण हो।'
जोया अख्तरले भारतका विविध भूगोल र समाजका कथाहरूले भारतीय सिनेमाको दायरा विस्तार गर्ने बताउँदै सिक्किमजस्ता स्थानको प्रामाणिक कथा दर्शकसम्म पुग्न लागेकोमा खुशी व्यक्त गरेकी छन्।
भारतीय फिल्म निर्देशक, निर्माता र पटकथा लेखक समेत रहेकी जोया हिन्दी फिल्म उद्योगमा फरक शैलीका कथा र यथार्थपरक प्रस्तुतीकरणका लागि परिचित छिन्।
यस्तो छ ट्रेलर