गायक रामकृष्ण ढकालको निर्माणमा बनेको फिल्म 'मालती मंगले' को शीर्षक गीत सार्वजनिक भएको छ।
बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच 'सुनैको सपनी' बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा रामकृष्ण ढकाल र रचना रिमालको स्वर छ। शब्द आनन्द अधिकारीको हो भने संगीत निर्देशक उज्ज्वल सागर र एरेन्जर उदयराज पौडेल हुन्।
भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतको अभिनय छ।
'सुनैको सपनी' एक विशुद्ध ग्रामीण प्रेमकथा बोकेको भावनात्मक गीत हो। गीतमा प्रेमिल जोडीका सपना, संघर्ष र एकअर्काप्रतिको समर्पणलाई दृश्य र शब्दमार्फत व्यक्त गरिएको छ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता ढकालले फिल्मको नाम सुन्दा धेरैलाई यो राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटकमा आधारित हो कि भन्ने लाग्न सक्ने भन्दै त्यसलाई प्रस्ट पारे। उनले भने, 'यो फिल्म राष्ट्रकविको नाटकमा आधारित होइन। हाम्रै वरपर रहेको तर त्यो दृष्टिकोणबाट नहेरिएको एउटा सामाजिक प्रेमकथा हो यो। यसलाई कथा मात्र नभएर सांगीतिक प्रेमकथा पनि भन्न सकिन्छ।'
गीतकार आनन्द अधिकारीले सार्वजनिक गीतको भाव प्रस्ट्याउँदै भने, 'यस गीतमा गरिबले पनि कसरी प्रेम गर्न सक्छन् भन्ने बुझाउन खोजेको छु। यो मायाको भन्दा पनि प्रेमको गीत हो। प्रेमको लागि कुनै स्वार्थ वा आवश्यकता हुँदैन भन्ने भावमा मैले यो गीत लेखेको हुँ।'
यस्तै, गायिका रचना रिमालले आफ्नो स्वर रेकर्ड गर्नका लागि निर्माता ढकालले लामो समय पर्खिएको भन्दै आश्चर्य र कृतज्ञता व्यक्त गरिन्। 'मलाई लामो समय पर्खेर मेरो आवाजमा गीत रेकर्ड गर्नुभएकोमा रामकृष्ण दाइलाई धन्यवाद। मलाई पर्खनुहुन्छ भन्ने विश्वास नै लागेको थिएन,' उनले भनिन्।
आफ्नो पहिलो निर्देशकीय फिल्ममै विश्वास गरेकोमा निर्देशक प्रकु पाण्डेयले ढकालप्रति आभार प्रकट गरे। उनले सम्पूर्ण टिमको कडा मिहिनेतले एउटा उत्कृष्ट पारिवारिक फिल्म तयार भएको बताए।
अभिनेत्री वर्षा राउतले रामकृष्ण ढकाल जस्तो व्यक्तित्वले बनाएको फिल्ममा अभिनय गर्न पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको बताइन्। मुख्य अभिनेता विजय बराल भने अर्को फिल्मको छायांकनमा व्यस्त रहेका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिइयो।
कार्यकारी निर्माता सागर ज्ञवालीले फिल्मको अवधारणा सुन्नासाथ विश्वास गरी रामकृष्ण ढकाल लगानिको लागि तयार भएको स्मरण गरे।
फिल्मको कथा निर्देशक प्रकु पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
फिल्ममा विजय बराल, वर्षा राउतसहित मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। उनीहरूका साथै प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनम, सुष्मा निरौला, सरिता गिरी, राज पंगेनी शर्मा, तारा शर्मा, गीता श्री, रिजन परियार, शकु शाह, सुचित्रा उप्रेती, सुनिल तामाङ, दिनेश शाही, सुस्मिता गुरूङलगायत कलाकारहरूको अभिनय छ।
रानी फिल्मस्को प्रस्तुति रहेको 'मालती मंगले' महेश पौडेलले छायांकन गरेका हुन् भने रोमी मोजेजको सम्पादन छ।
फिल्म बैशाख २५ गतेदेखि प्रदर्शनमा आउने तय छ।