गायक तथा संगीतकार टंक बुढाथोकीको पहिलो निर्देशकीय फिल्म 'मन बिनाको धन' ले राम्रो व्यापार गर्यो।
यो फिल्मको सफलतासँगै टंकले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। सेतोपाटीसँग कुरा गर्दै टंकले 'बा-आमा' शीर्षकमा फिल्म बनाउन लागेको बताए।
उनका अनुसार यो शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ। 'मन बिनाको धन' बाट फिल्ममा डेब्यु कलाकार बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी 'बा-आमा' मा दोहोरिने छन्। अन्य कलाकार छनोटको प्रक्रिया बाँकी रहेको उनले बताए।
टंक बुढाथोकीकै कथा रहने फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्।
टंकले भने, 'स्क्रिप्ट लेखन अन्तिम चरणमा छ। त्यसपछि कलाकार छनोट चरणमा लाग्नेछौं', उनले भने, 'बैशाखदेखि छायांकन सुरू गर्ने योजना छ।'
'मन बिनाको धन' ले बक्स अफिसमा ३ करोड ८० लाख रूपैयाँ ग्रस कमाइ गरेको थियो। यसमा अशोक र एआर दुवैको शीर्ष अभिनय छ।

टंकले आफ्नो पाँच वर्षअघिको हिट गीत 'बा-आमा' शीर्षकमा फिल्म बनाउन लागेका हुन्। पहिलो फिल्म पनि उनले आफ्नो सुपरहिट गीत 'मन बिनाको धन’ को शीर्षकमा बनाएका थिए।
'बा-आमा' पारिवारिक–सामाजिक कथामा बन्नेछ।
'फिल्मको कथा बा-आमा गीतबाटै सुरू गर्ने योजना हो। पहिलो फिल्मलाई दर्शकहरूले रूचाउनुभएको छ। त्यसमा भएका कमीकमजोरी सुधार्दै राम्रो फिल्म बनाउने प्रयास रहनेछ,' टंकले सेतोपाटीसँग भने।