मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले टिकट काटेर पनि हलसम्म पुग्न नसक्ने दर्शकहरूको पूरा पैसा फिर्ता गर्ने भएको छ।
देशका विभिन्न भागमा नदीको सतह बढेर बाढीको जोखिम तथा प्रभाव देखिएकाले क्यूएफएक्स सिनेमाले दर्शकहरूको सुरक्षालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरेको हो।
क्यूएफएक्सले एक सूचना गर्दै दर्शकहरूको सुरक्षालाई आफ्नो उच्च प्राथमिकतामा राखेको जनाएको छ। सूचनाअनुसार, बाढीका कारण प्रभावित क्षेत्रहरूमा यातायात तथा आवागमनमा समस्या भई सिनेमा हलसम्म पुग्न असमर्थ हुने दर्शकहरूका लागि विशेष व्यवस्था गरिएको छ। क्यूएफएक्सले अक्टोबर ५ (असोज १९) गते आइतबारका लागि अग्रिम बुक गरेर हलसम्म जान असमर्थ दर्शकहरूको सम्पूर्ण टिकटहरूको पूरा पैसा फिर्ता गरिने घोषणा गरेको हो।
यो विषम परिस्थितिमा दर्शकहरूको सहयोग र बुझाइका लागि क्यूएफएक्सले धन्यवाद समेत व्यक्त गरेको छ।