कार्तिक आर्यन अभिनीत बलिउड फिल्म 'भुल भुलैया ३' नेपाल प्रदर्शनका लागि बिहीबार सेन्सर पास भएको छ।
शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको बिहीबार दिउँसोसम्म सेन्सर नहुँदा यसको प्रदर्शनलाई लिएर अन्योलता देखिएको थियो।
अन्ततः बिहीबार बेलुका केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई नेपालभर प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो।
सेन्सर बोर्डले फिल्मलाई पिजी (१६ वर्ष मुनिका दर्शकका लागि अभिभावकका साथमा रहने गरी) सर्टिफिकेट दिएको छ।
हरर–कमेडी जनराको फिल्म 'भुल भुलैया ३' मा कार्तिक आर्यनसहित माधुरी दीक्षित, तृप्ति डिमरीले शीर्ष भूमिकामा अभिनय गरेका छन्। अनीस बाज्मीले फिल्म निर्देशन गरेका हुन्।
शुक्रबारदेखि अर्को बलिउड फिल्म 'सिंघम अगेन' पनि प्रदर्शनमा आउँदैछ। रोहित शेट्टीको स्टारर यो फिल्म भने यसअघि नै सेन्सर भइसकेको थियो।