गुड फ्राइडे सिनेमा
दुई वर्षअघि कोरोना महामारीले भारतीय सिने क्षेत्र थला परेको थियो। हलहरू ५० प्रतिशतभन्दा कम दर्शकमा चलिरहेका थिए।
त्यस्तो प्रतिकूल अवस्थामा दक्षिण भारतीय फिल्म उद्योगले एउटा साहसिक निर्णय लियो- बजार सुस्ताएका बेला ठूलो बजेटको फिल्म रिलिज गर्ने।
कुनै पनि फिल्मले राम्रो व्यापार नगरेको अवस्थामा धेरैले 'केही समय पर्खौं' भनेर भन्दाभन्दै उक्त फिल्मका निर्माताले चुनौती मोल्ने निधो गरेका थिए। उनलाई आफ्नो फिल्मप्रति आत्मविश्वास थियो। र, उनको आत्मविश्वासले नतिजा पनि देखायो।
महामारीले शिथिल फिल्म क्षेत्रमा आशाको सञ्चार गराउँदै सुपरहिट भयो- मास्टर।
दक्षिण भारतका दुई सुपरस्टार विजय थलापती र विजय सेतुपती अभिनीत यो फिल्मले कोरोनाका कारण सिनेमा हल आउन डराइरहेका दर्शकलाई फेरि हलसम्म तान्न ठूलो भूमिका खेल्यो। यस अर्थमा लोकेश कनागराज निर्देशित 'मास्टर' लाई कोरोनापछि फिल्म क्षेत्र चलायमान बनाउने महत्वपूर्ण कडी मानिन्छ।
प्रतिकूल समयमा पनि यो फिल्म सुपरहिट हुनुमा दुइटा कारण थियो-
एउटा, यो दक्षिण भारतका दुई सुपरस्टार विजय थलापती र विजय सेतुपतीले सँगै काम गरेको पहिलो फिल्म हो। फिल्म रिलिजपछि विजय सेतुपतीले एक अन्तर्वार्तामा भनेका छन्, 'थलापती सरसँग काम गर्दा मलाई नर्भस अनुभव भयो। काम गर्दै जाँदा बिस्तारै म सहज हुँदै गएँ।'
दोस्रो कारण हो, फिल्मको विषयवस्तु।
यसमा थलापतीले नायकको भूमिका गरेका छन् भने उनलाई खलनायकका रूपमा टक्कर दिएका छन् सेतुपतीले।
फिल्ममा दुइटा समयको कथा छ। सन् २००२ मा नागरकोयल भन्ने ठाउँमा १७ वर्षीय भवानीले आफ्नै आँखाअगाडि परिवारका सदस्यहरूको हत्या भएको देख्छ। हत्याको दोष भवानीमाथि नै थोपरिन्छ र उनलाई नाबालिग भएका कारण सुधार गृहमा राखिन्छ।
सुधार गृहमा भवानीलाई यस्तो चरम यातना दिइन्छ, उनी सुध्रिनुको साटो झन् खुंखार अपराधी भएर निस्कन्छन्।
त्यसपछिको घटना सन् २०१९ को हो, जहाँ चेन्नई सहरको एउटा कलेजमा विद्यार्थीहरूमाझ निकै लोकप्रिय प्राध्यापक हुन्छन्। रक्सीको लतका कारण उनलाई कलेजका अन्य प्राध्यापकहरू मन पराउँदैनन्। कलेजको सञ्चालक समिति पनि कुनै कारण देखाएर उनलाई निष्कासन गर्न चाहन्छ। तर विद्यार्थीहरूको दबाबका कारण कलेज प्रशासनको मनसुबा पूरा हुँदैन।
यहाँ सुधार गृहबाट खुंखार अपराधी भएर निस्कने भवानीको भूमिका विजय सेतुपतीले गरेका छन् भने कलेजका लोकप्रिय मास्टरको भूमिका विजय थलापतीले गरेका छन्।
दुई अलग पृष्ठभूमिका यी पात्र एकअर्कालाई कसरी भेट्छन्? उनीहरूको जीवन कहाँ पुगेर आपसमा ठोक्किन्छ? र, त्यसपछि फिल्मले कुन रूप लिन्छ?
यसका लागि दक्षिण भारतको यो सुपरहिट फिल्म हेर्नुहोला, जुन आजको गुड फ्राइडे सिनेमामा हामीले प्रस्तुत गरेका छौं।