गुड फ्राइडे सिनेमा
लकी एक कलाकार हुन्। उनी चित्र बनाउँछन्। तीक्ष्ण कलाकार भए पनि उनको कला सीमित व्यक्तिहरूमाझ मात्र फैलिएको छ। यसको कारण उनको स्वभाव हुन्छ।
उनी सानै छँदा उनका बुवाको मृत्यु भएको थियो। आमाले उनलाई बुवाको कमी नहुने गरी हुर्काउँछिन्। एक दिन उनकी आमाको पनि निधन हुन्छ। यसले लकीलाई निराश बनाउँछ। लामो समय पीडामा हुन्छन्।
उनलाई यो दुःखबाट निकाल्न उनका मास्टरले चित्रकला सिकाउँछन्। लकी यसमा भुल्छन्। चित्रकलाकै माध्यमबाट उनको टोलका युवकहरू पनि राम्रो चिनजान हुन्छ। ती युवकहरूको एक कम्पनीसँग नराम्रो झगडा परेको हुन्छ। त्यो कम्पनीबाहेक लकी र उनका साथीहरूको कोही दुश्मन हुँदैन।
लकीकी एक प्रेमिका भने हुन्छिन्। उनीहरू एकअर्कालाई खुबै माया गर्छन्। सबैले उनीहरू बिहे गर्छन् भन्ने सोचेका हुन्छन्। निहारिका लकी सँगै बसिरहेकी हुन्छिन्।
तर दुई साताअघि लकीले निहारिका बैंगलोर गएको बताउँछन्। निहारिका गएपछि उनी फेरि दुःखमा डुबेका हुन्छन्। उनको जीवनमा एकाएक अन्धकार छाउँछ।
लकीको यो कथा उनको घरमा काम गर्ने सहयोगीहरूले प्रहरीलाई सुनाएका हुन्। प्रहरी अधिकृत अकबर लकीको मृत्यु अनुसन्धानमा खटिएका हुन्छन्।
लकी आफ्नै घरमा मृत फेला परेका हुन्छन्।
प्रहरीले यो घटना अनुसन्धान गर्दै जाँदा बिस्तारै थाहा जान्छ, लकी रिसाहा हुन्छन्। कुनै कुरा उनलाई चित्त बुझेन भने रिसको झोंकमा हिंसात्मक पनि हुन्छन्।
उनको मृत्युको एक दिनअघि एउटा कुरिअर आएको हुन्छ जुन निहारिकाले पठाएकी हुन्छिन्।
लकीको मृत्यु झनै रहस्यमयी बन्दै जान्छ।
अनुसन्धानकै बीच प्रहरीले एक डायरी फेला पार्छ जसले लकी र निहारिकाको विगत खुलाउँछ।
अकबरले डायरी पढेर जे थाहा पाउँछन्, त्यसले उनलाई चकित पार्छ। उनले सोचेभन्दा अलग हुन्छ यो कहानी। तर यसले मात्र सबै कथा भन्दैन। अधुरो डायरीले अकबरलाई झन् बेचैन बनाउँछ।
लकी र निहारिकाको कथाले अकबरको जीवनमा पनि प्रभाव पार्छ। उनको जीवन पहिलेदेखि अस्तव्यस्त हुन्छ। उनी श्रीमती फातिमासँग डिभोर्स लिन चाहन्छन्। यसको प्रक्रियामा पनि हुन्छन्। सबैले फातिमासँग सम्बन्ध पुनः स्थापना गर्न सुझाउँछन्। तर अकबर उनीसँग कत्ति पनि खुसी हुँदैनन्। खासमा अकबर अरू नै कसैलाई मनपराउने हुन्छन्।
यही क्रममा लकीकी मृत्युको घटना आएको हुन्छ। अनुसन्धान क्रममा थाहा हुन्छ कि लकीको मृत्यु विषका कारण भएको हो।
यो विष लकी आफैंले खाएर आत्महत्या गरेका हुन्? निहारिकाले उनलाई छाडेर कहाँ गइन्? आखिर उनीहरूको जीवनमा के भएको थियो? यो घटनाले अकबरको जीवनमा कस्तो प्रभाव पार्छ?
अझ रोचक त अकबरले भेटेको डायरीको वास्तविकता छ! त्यसमा के छ खास? के यो डायरी मात्रै हुन्छ, वा यसको प्रयोजन अर्कै हुन्छ?
यी सबै जवाफ दिन्छ दक्षिण भारतीय फिल्म 'लुका' ले। सन् २०१९ मा रिलिज भएको यो फिल्म अरूण बोसले निर्देशन गरेका हुन्। अरूणको यो पहिलो निर्देशन हो।
मूल रूपमा मलयालम भाषामा बनेको फिल्मको संस्करणमा लकीको नाम हो लुका। हिन्दी डबमा लुकालाई लकी भनिएको छ। यसको तेलेगू संस्करण 'लुका अलियास जोनी' बनाइएको छ।
प्रेम, जीवन र मृत्युको कथा बोल्ने यो फिल्मलाई समीक्षकहरूले राम्रो प्रतिक्रिया दिएका थिए। बक्सअफिसमा पनि यसले फाइदाजनक व्यापार गरेको थियो।
आज गुड फ्राइडे सिनेमामा हामीले तपाईंहरूलाई यी फिल्म सिफारिस गरेका छौं।