गुड फ्राइडे सिनेमा
चम्पा (नन्दिता दास) को सानो परिवार सानो गाउँमा बस्छ। उनका श्रीमान शंकर (रसिद फरूकी) दिनभर काम गरेर रोजीरोटी जुटाउँछन्। उनीहरूका ८ वर्षे छोरा हुन्छन् रामचन्द।
रामचन्द चञ्चले स्वभावका हुन्छन्। उनलाई स्कुल जान मनपर्दैन। उनी आमासँग गनगन पनि गरिरहन्छन्। एक दिन उनी चम्पासँग रिसाएर हिँड्छन्।
हिँड्दाहिँड्दै उनी नजानुपर्ने ठाउँमा पुग्छन्- भारतीय भूमिमा।
रामचन्दको परिवार भारत र पाकिस्तानको सीमानजिकैको गाउँमा बस्ने हुन्छ।
थाहै नपाई सीमा पार गरेका उनलाई भारतीय सीमा सुरक्षा प्रहरीले पक्रिन्छन्। पाकिस्तानबाट आएको भन्दै बालख रामचन्दलाई समेत केरकार गर्न पछि पर्दैनन्।
रामचन्द हिँड्दै गरेको उनका बुवा शंकरले देखेका हुन्छन्। उनलाई पछ्याउँदै आएका उनी पनि प्रहरीको फन्दामा पर्छन्।
खुसहाल चम्पाको परिवारमा चट्याङ नै आइपर्छ।
भारत र पाकिस्तानबीच तनाव बढिरहेको समय थियो। यस्तोमा सीमा नाघेर भारतीय भूमिमा पुगेका पाकिस्तानी दलित हिन्दु शंकर, चम्पा र नाबालक रामचन्दको जीवनमा पनि तनाव बढ्छ।
शंकर र रामचन्दलाई भारतको जेल पठाइन्छ। उनीहरू लामो समयसम्म त्यहाँ कैद हुन्छन्। केही समयपछि मुक्त भएका उनीहरूलाई गल्ती भएको भन्दै फेरि जेल हालिन्छ।
श्रीमान र छोरा जेल परेपछि चम्पा एक्लो हुन्छिन्। जीवन गुजार्न अनेक प्रयास गर्छिन्।
फिल्म 'रामचन्द पाकिस्तानी' यही परिवारको कथा हो।
उर्दू भाषाको यो पाकिस्तानी फिल्म मेहरन जब्बरले निर्देशन र जावेद जब्बरले निर्माण गरेका हुन्।
यो फिल्म वास्तविक घटनामा आधारित हो। निर्दोष व्यक्तिले अनजानमा सीमा पार गर्दाको गल्तीले कसरी एक परिवारको जीवन अस्तव्यस्त हुन्छ भन्ने यो फिल्मले देखाएको छ।
'रामचन्द पाकिस्तानी' पाकिस्तानका साथै भारतमा पनि रिलिज भएको फिल्म हो। त्यस्तै सन् २०१० मा अमेरिका, न्यूयोर्कको म्युजियम अफ मोडर्न आर्टमा पनि यो फिल्म देखाइएको थियो।
यसले तीन वटा राष्ट्रिय र सात वटा अन्तर्राष्ट्रिय गरी विभिन्न विधामा दस वटा अवार्डहरू पनि जितेको छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।