गुड फ्राइडे सिनेमा
लिजा टेलरम्यानको परिवार गरिब हुन्छ। उनका चार सन्तान हुन्छन्; दुई छोरा र दुई छोरी।
जेठी छोरी डेसी १३ वर्षकी हुन्छिन्। जेम्स १० वर्षका, मेबेथ ९ वर्षकी र कान्छा स्याम ६ वर्षका हुन्छन्। उनीहरू सहरभन्दा पर समुद्र किनारकै छेउमा बस्छन्।
बाबु नभए पनि लिजाले उनीहरूको हुर्काइमा सक्दो गरेकी हुन्छिन्। छोराछोरी आमाको मायाले लुटपुटिएका हुन्छन्।
एक दिन लिजा मध्यरातमा खुत्रुके फोड्छिन्। घरको कुनाकुनामा राखेको पैसा बटुल्छिन्। अनि छोराछोरीलाई उठाउँछिन्। आफ्नी सानिमाको घर जाने भनेर उनीहरूलाई लिएर हिँड्छिन्। केटाकेटी अचम्म मानिरहेका हुन्छन्।
एउटा मलमा पुगेपछि लिजाले उनीहरूलाई केही सामान किनेर आउँछु, पर्खी राख है भनेर गाडीमा छाडेर जान्छिन्। आमा आइहाल्छिन् भनेर बालख छोराछोरी ज्ञानी भएर कुरेर बस्छन्। तर निकै समय बितिसक्दा पनि लिजा आउँदिनन्।
साँझ परेपछि जेठी छोरी डेसी उनलाई खोज्न निस्किन्छिन्। लिजा कतै हुँदिनन्।
उनीहरूले सोच्छन्- आमा सानिमाकै घर जानुभयो होला। हामी त्यहीँ जाम्!
उनीहरूले आमाकी सानिमालाई कहिल्यै देखेका हुँदैनन्। हरेक साल क्रिसमसमा आदानप्रदान हुने कार्डले मात्र चिनेका हुन्छन्।
साना केटाकेटी आफ्नै त्यहाँ जान कस्सिन्छन्। उनीहरूसँग धेरै पैसा र खानेकुरा हुँदैन।
हिँडेरै जाने निधो गर्छन्। डेसी ठूली भएकाले यो यात्रा उनैले सुरू गर्छिन्। १३ वर्षे उनलाई आफ्ना भाइबहिनीको हेरविचारमा अनेक मुश्किल आइपर्छन्। तर बडो बहादुरीका साथ अगाडि बढ्छिन्।
आखिरमा उनीहरू आमाकी सानिमाको घर पुग्छन्। तर उनको मृत्यु भइसकेको हुन्छ। सानिमाकी छोरी युनिसले डेसी र मेबेथलाई मात्र आफूसँग केही समय राख्ने भन्छिन्। जेम्स र स्याम केटा भएकाले नराख्ने भनेपछि उनीहरू डराउँछन्।
उनीहरू एकअर्कासँग छुट्टिएर बस्न चाहँदैनन्। परिवार अलग हुनु हुँदैन भन्ने सोच्छन्। त्यसैले प्रहरीबाट पनि उनीहरू भागिरहेका हुन्छन्। प्रहरीले आफूहरूलाई अनाथ आश्रममा लग्ने र आफूहरू अलग हुने डर उनीहरूलाई हुन्छ।
त्यहीँ उनीहरूले आफ्नी हजुरआमा एबिगेलका बारेमा थाहा पाउँछन्। उनीहरू युनिसको घरबाट भाग्छन्।
आफ्नी हजुरआमा साह्रै दुष्ट भएको उनीहरूले सुनेका हुन्छन्। उनी हुन्छिन् पनि त्यस्तै। रूखो बचन र व्यवहारले डेसीको मन कुँडिन्छ।
साना भाइबहिनीका लागि भनेर तैपनि डेसीले आफू खेतमा काम गर्ने प्रस्ताव राख्छिन्। हजुरआमा मान्दिनन्। उनीहरूबीच भनाभन हुन्छ।
केही नोकझोंकपछि हजुरआमाले एक रात बस्न दिने भन्छिन्। डेसीले आफ्ना भाइबहिनीसँग नम्र रूपमा प्रस्तुत हुन हजुरआमालाई आग्रह गर्छिन्।
डेसी, जेम्स, मेबेथ र स्याम आफ्नै आमाको घरमा हुन्छन्। उनीहरूले घरका भित्ताहरूमा आफ्नोपन महसुस गर्छन्। तर हजुरआमाको मन विरानो लाग्छ। हजुरआमा उनीहरूलाई राख्नै चाहँदिनन्। उनी श्रीमान बितेपछि एक्लै बसिरहेकी हुन्छिन्।
सन् १९९६ मा रिलिज भएको अमेरिकी फिल्म 'होमकमिङ' यिनै चार केटाकेटीको कथा हो।
उनीहरूलाई आखिर लिजाले किन छाडिन्? के उनी फर्केर आउँछिन्? कि कहिल्यै आउँदिनन्?
उनीहरूकी हजुरआमा किन त्यस्ती खराब हुन्छिन्? उनको जीवन कथा के हो?
डेसी, जेम्स, मेबेथ र स्याम एक साथ बस्न घरमा पाउलान्? कि घर भन्ने कुरा उनीहरूको भाग्यमै हुँदैन?
यसका लागि फिल्म हेर्नुहोला।
भावनात्मक तर सुखद अनुभूति गराउने यो फिल्मले दर्शकको मन छुन्छ। यो फिल्म सिन्थिया भोइटको उपन्यास 'होमकमिङ' मा आधारित छ।
अप्ठ्यारा परिस्थिति र भावनात्मक अवस्थाका बीच पनि मान्छेको जीवनमा सुख हुन्छ भन्ने यो फिल्मले देखाएको छ। त्यस्तै मान्छेको चिसो व्यवहारभित्र न्यानो मन लुकेको हुन्छ भन्ने पनि फिल्मले देखाउन खोजेको छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।