गुड फ्राइडे सिनेमा
फिल्मको सुरूआत रामको मृत्युबाट हुन्छ। उनको हत्या भएको हुन्छ। कसले, किन गर्यो थाहा हुँदैन।
उनकी श्रीमती जननी अर्धचेत अवस्थामा हुन्छिन्। श्रीमानको मृत्युले उनी होस गुमाएझैं देखिन्छिन्। त्यही दिन राती उनले रामलाई कुदिरहेको देख्छिन्।
यसपछि फिल्मको कथा पुग्छ विगतमा।
राम र जननी हाइस्कुलका विद्यार्थी हुन्छन्। एकदिन झरी परिरहेका बेला जननीको साइकल बिग्रिन्छ। रामले बनाउन मद्दत गर्छन्। उनलाई जननी मनपर्छ र यो कुरा आफ्ना साथीहरूलाई पनि सुनाउँछन्।
जननीलाई सधैं देख्न पाइयोस् भनेर राम उनकै ट्युसन कक्षामा भर्ना हुन्छन्। एकोहोरो माया दर्शाइरहन्छन्। जननीले पनि आफूलाई मनपराउँछिन् कि भन्ने थाहा पाउन उनी हरेक दिन प्रतीक्षा गरिरहन्छन्। एकदिन उनको पर्खाइ सकिन्छ। जननीले उनलाई प्रेम देखाउँछिन्।
उनीहरूको प्रेम बाधारहित हुँदैन। जननीका परिवारले उनलाई अमेरिका लैजान खोज्छन्। उनले आफू रामलाई माया गर्ने भएकाले अमेरिका नजाने भन्छिन्।
उनले सोचे भने जस्तो हुँदैन। उनको परिवारले भनेजस्तो पनि हुँदैन।
विगतमा कस्तो अवस्था सामना गरेर उनीहरू आज श्रीमानश्रीमती भएका हुन्छन्?
अचानक रामको हत्या कसरी भयो? किन भयो? कसले गर्यो?
जननीको यो कुरा पत्ता लाउन लागि पर्छिन्। यस क्रममा उनले जे जे फेला पार्छिन्, त्यसले उनलाई चकित बनाउँछ।
उनलाई मात्र होइन, फिल्म '३' हेर्ने दर्शकलाई पनि उत्तिकै रोमाञ्चक बनाउँछ। प्रेम कथा र साइकोलोजिकल थ्रिलरको संयोजन भएको यो फिल्मले दर्शकलाई बेला बेला सिरिंग पार्छ।
आज गुड फ्राइडे सिनेमामा हामीले हिन्दी भाषामा डब गरिएको तमिल फिल्म '३' सिफारिस गरेका छौं। दक्षिण भारतीय अभिनेता धनुष (राम) र अभिनेत्री श्रुती हसन (जननी) को मुख्य भूमिका रहेको यो फिल्म सुपरहिट भएको थियो।
सन् २०१२ मा रिलिज भएको यो फिल्मको एउटा गीत त झनै धेरै चर्चित छ- ह्वाइ दिस कोलावेरी डी।
फिल्मले समीक्षकहरूबाट पनि प्रशंसा पाएको थियो। त्यस्तै धनुषले उत्कृष्ट अभिनेताका तीन अवार्ड जिते। उनले गाएको कोलाभेरी डीबाट पनि उनले उत्कृष्ट प्लेब्याक सिंगरको अवार्ड जिते। उत्कृष्ट संगीत विधामा पनि यसले अवार्ड जितेको थियो। फिल्म करिब दस वटाजति विधामा विभिन्न अवार्ड पाएको छ।
फिल्मले भरपुर मनोरञ्जन त दिन्छ नै, यसले अन्तिममा राम्रो सन्देश पनि दिएको छ। त्यो सन्देश थाहा पाउन पूरा फिल्म हेर्नुहोला।