गुड फ्राइडे सिनेमा
हरेक सिनेमाका आफ्नै दर्शक हुन्छन्। कुन सिनेमा कस्ता दर्शकलाई मन पर्छ भन्ने थाहा हुँदैन। तर थ्रिलर विधाका फिल्म यस्ता हुन्छन्, जुन हरेक दर्शकको रोजाइ नभए पनि उनीहरूलाई बाँधेर राख्ने क्षमता हुन्छ।
राम्रो थ्रिलर फिल्मले त सुरूआती पाँच मिनेटमै दर्शकलाई यसरी अठ्याउँछ, अन्तसम्म नपुगी फुत्किन दिँदैन।
आज गुड फ्राइडे सिनेमामा हामीले यस्तै फिल्म सिफारिस गरेका छौं- नेल पोलिस।
बलिउड फिल्म नेल पोलिस सन् २०२१ मा जी५ मा रिलिज भएको थियो। सिनेमा हलमा नलागेको यो फिल्मले दुई जना बच्चाको हत्यारा पछ्याउँछ।
बलात्कार र हत्याको आरोप लागेका व्यक्ति लोकप्रिय सामाजिक अभियन्ता हुन्छन्।
के उनी साँच्चै हत्यारा र बलात्कारी हुन्छन्?
फिल्म जति अगाडि बढ्दै जान्छ, यो प्रश्न उति नै दर्शकको दिमागमा घुमिरहन्छ। अझै धेरै कौतुहलता जगाइरहन्छ।
थ्रिलर हुनुका साथै यो फिल्मका थप दुइटा विशेषता छन्।
यसले हिन्दी सिनेमामा बिरलै देखाइने बाल यौन दुर्व्यवहारको कथा देखाउँछ। यस्तो संवेदनशील विषयलाई मूलधारका फिल्मले हत्तपत्त टिप्दैनन्।
अर्को विशेषता भनेको अदालतभित्रको इजलासको दृश्य हो। इजलासमा हुने बहसको रोमाञ्चकता प्रहरीको अनुसन्धानभन्दा कम छैन।
यो मुद्दाले न्यायाधीशलाई समेत दोधारमा पार्छ। अन्तिममा उनले कसरी आफ्नो फैसला सुनाउलान्?
के दोषीलाई कारबाही होला? न्यायाधीशको फैसलाले पीडितलाई न्याय दिलाउला?
यसका लागि फिल्म हेर्नुहोला।
यो फिल्म बग्स भारगव कृष्णले लेखेका र निर्देशन गरेका हुन्। मुख्य पात्रहरू अर्जुन रम्पाल र मानव कौलको अभिनयले फिल्मलाई एकदमै सशक्त बनाउन मद्दत गरेको छ।
नेल पोलिसबारे टाइम्स अफ इन्डियाले समीक्षा गर्दै भनेको छ- उत्कृष्ट कथा र उत्कृष्ट अभिनय भएको नहेरी नहुने थ्रिलर फिल्म!