गुड फ्राइडे सिनेमा
सौगात मल्ल आफूले निर्वाह गर्ने चरित्रमा पात्रको हाउभाउ, लवज र मनोविज्ञान उतार्न सक्ने अभिनेता हुन्। सकारात्मक र नकारात्मक दुवै खालका भूमिका सशक्त रूपमा निर्वाह गरेका उनले 'लुट' मा खुंखार 'हाकु काले' र 'कथा' मा भक्भकाएर बोल्ने निर्दोष प्रेमीका रूपमा दर्शक तथा समीक्षकको मन जितेका छन्।
कहिले माओवादी छापामार, कहिले प्रहरी त कहिले सेनाको भूमिकामा पनि उनी जमेकै छन्।
तर समीक्षक र शुभेच्छुकले भन्ने गरेजस्तै फिल्म छनौटमा उनी चुकेको कुरा सही लाग्छ। तै पनि 'कागबेनी' देखि 'लालपूर्जा' सम्म आउँदा उनले आफ्नो अभिनय क्षमता निरन्तर प्रमाणित गर्दै आएका छन्। उनले खेलेका फिल्म राम्रा-नराम्रा जे भए पनि उनको अभिनय क्षमताको चर्चा एकनास चल्ने गर्छ।
यस्तै फिल्म हो 'फिटकिरी'।
यो एउटा अपहरणकारीसम्म पुग्न दत्तचित्त प्रहरीको संघर्ष कथा हो। यसमा सौगात मल्ल प्रहरी अधिकृत जीवनको भूमिकामा छन्।
फिटकिरी नाम दिइएको ठूलो मिसनमा होमिएका जीवनको घर बाटो बिस्तार हुने क्रममा सरकारले भत्काउन लागेको हुन्छ। तर घर, श्रीमती र छोराभन्दा पनि उनी फिटकिरी मिसनलाई प्राथमिकता दिन्छन्।
यही मिसनका क्रममा उनको भेट रूपा (दीया मास्के) सँग हुन्छ, जो रहस्यमयी पात्र हुन्छिन्। जीवन जति जति अपराधीसम्म पुग्न प्रयास गर्छन्, केस उति नै जटिल बन्दै जान्छ।
सन्पेन्स थ्रिलर शैलीको 'फिटकिरी'मा जटिल मुद्दामा अपराधी पत्ता लगाउन प्रहरीले गर्ने अनुसन्धान र काम गर्ने शैली बिस्तारमा देखाइएको छ।
फिल्ममा सौगात र दीयाबाहेक अनुप बराल, निश्चल बस्नेत, शान्ति गिरीको मुख्य भूमिका छ। सबैले राम्रो अभिनय गरे पनि सौगात र दीयाको अभिनय प्रशंसनीय छ।
कथा केही घुमाउरो बनाउँदा अलमल भएजस्तो देखिए पनि फिल्मको कलात्मक पक्ष सुन्दर छ। रंगमञ्च निर्देशनमा चर्चा कमाएका अनुप बरालको निर्देशनमा ध्वनि, प्रकाश र दृश्यबीच संयोजन भेटिन्छ। फिल्मको पटकथा समीक्षक यज्ञशले लेखेका हुन्।
हेर्नुहोस् फिल्मः