गुड फ्राइडे सिनेमा
दस वर्षीया दीक्षा अनाथ आश्रममा बस्छिन्। एकदिन त्यहाँका मान्छेले उनलाई भेट्न विशेष व्यक्ति आउँदैछन् है भनेर सुनाउँछन्।
यो सुनेर दीक्षा उत्साहित र बेचैन दुवै हुन्छिन्।
आमाबा नभएकी उनलाई आखिर को भेट्न आउँदैछ? भोलि बिहान दस बजे आउने ती व्यक्तिको उनी व्यग्र प्रतीक्षामा हुन्छिन्।
त्यही बेला अर्कातिर इन्सपेक्टर अर्जुन र उनको टिमले हजार किलो लागुऔषध पक्राउ गर्छन्। त्यो लागुऔषध तमिलनाडुको खतरनाक गिरोहको हुन्छ। रंगा र उनका भाइ बिल्लाले चलाइरहेको आपराधिक गिरोहलाई प्रहरीले धेरै प्रयास गरे पनि पक्राउ गर्न सकेको हुँदैन।
हजार किलो कोकिन पक्राउ गरेपछि भने बिल्लालाई झट्का लाग्छ। उनी लागुऔषध फिर्ता ल्याउने र अर्जुन र उनको टिमका प्रहरीको हत्या गर्ने योजना बनाउँछन्। उनको योजनामा खास ठूलो बाधा पनि देखिँदैन। किनकि अर्जुनको बाटोमा तगारो हाल्न सक्ने व्यक्तिहरूले बिल्लालाई सहयोग गर्छन्।
तैपनि केही गडबढ त भइहाल्छ।
यही गडबढका बीचमा फस्न आइपुग्छन् शिवा।
शिवा दस वर्ष जेल सजाय काटेर भर्खरै निस्केका हुन्छन्। तर उनीसँग परिचय पत्र नभएका कारण प्रहरीले फेरि पक्राउ गरेको हुन्छ। पक्राउ पर्ने कारण खास ठूलो नभए पनि शिवालाई यो भारी पर्छ।
शिवा इन्सपेक्टर अर्जुन र बिल्लाको खतरनाक चक्रव्यूहमा पर्छन्। उनी प्रहरीकै कारण खतरामा पर्छन्।
दस वर्षदेखि जेलबाट छुट्ने रात र दिन गन्दै बसेका उनी यो द्वन्द्व कथाको भूमरीमा यसरी फस्छन्, उनले चाहेर पनि उम्किन सक्दैनन्। यही भूमरीमा रूमलिँदा उनको विगत खोतलिन्छ। भविष्यको बाटो पनि कोरिन्छ।
अर्जुनसहितका प्रहरी र बिल्लासहितका गुन्डाहरूको भविष्यको बाटो भने शिवाले कोरिदिन्छन्। यो यात्रा खतरनाक र अप्रत्याशित हुन्छ।
अर्कातिर दीक्षा छिन्, उनी शिवाकै प्रतीक्षामा छिन्। उनलाई थाहा हुँदैन शिवा को हुन्, तर शिवालाई थाहा छ- दीक्षा उनले कहिल्यै अनुहार देख्न नपाएकी आफ्नी छोरी हुन्।
यस्तो अवस्थामा के शिवा छोरीलाई भेट्न पुग्लान्?
आखिर शिवा कसरी यो अवस्थामा पुगे?
पूरा एक्सन, सस्पेन्स र थ्रिलरको मिश्रण तमिल फिल्म 'कैथी' (कैदी) ले यही कथा भन्छ।
लोकेश कनागराज निर्देशित कैथी बक्सअफिसका साथै समीक्षक र दर्शकको मन जित्न सफल फिल्म हो। फिल्मले सीमा, जी सिने, आनन्द विकाटन, नर्वे तमिल फिल्म फेस्टिभल लगायतमा विभिन्न विधामा दर्जनभन्दा बढी अवार्ड जितेको छ। त्यस्तै इन्टरनेसनल इन्डियन फिल्म फेस्टिभल टोरन्टोमा पनि यो छानिएको थियो।
यो फिल्मको सिक्वेल पनि बन्दैछ जुन आगामी वर्ष रिलिज हुने भनिएको छ।
हेर्नुहोस् फिल्म कैथीः