गुड फ्राइडे सिनेमा
मध्यरातमा सुतिरहेका बेला अथरेयालाई उनका साथीले बोलाउँछन्। उनको गाउँबाट फोन आएको हुन्छ।
फोनमा मामाले उनलाई तुरून्तै गाउँ आउन भन्छन्। तनाव, चिन्ता र हतासमा उनी रातारात गाउँ पुग्छन्।
गाउँको घर पुग्दा चकमन्न हुन्छ। उनी धिपिक्क बत्ती बाल्छन्।
उज्यालो हुनेबित्तिकै समय फेरिन्छ- तीन वर्षपछाडि।
त्यो दिन त्यहाँ के भएको थियो?
तीन वर्षपछि उनी त्यही घरमा देखिन्छन्। उनी जासुस भइसकेका हुन्छन्। आपराधिक घटना अनुसन्धानको काम गर्ने ब्युरो पनि खोलेका हुन्छन् जसलाई उनी 'एफबिआइ' का रूपमा चिनाउँछन्।
रमाइलो स्वभावका उनी चर्चित अंग्रेजी जासुसी फिल्महरू हेर्छन्। त्यसमा कुनै दोषीले घटनाबाट बच्न प्रयोग गरेका हरेक कुरा नियाल्छन्। अनि प्रहरी वा जासुसका गल्ती केलाउँछन्। यसरी फिल्ममार्फत् उनी आफ्नो काम सिकिरहेका पनि हुन्छन्।
आफू मात्र होइन, आफ्नी असिस्टेन्ट स्नेहालाई पनि उनी काम सिकाउँछन्, तरिकाहरू बुझाउँछन्, रमाइलो पारामा। उनीहरूको चिनाजान कलेजमै भएको हो। स्नेहा अथरेयाभन्दा तल्लो कक्षामा पढ्थिन्।
अहिले उनीहरू दुई मिलेर ससाना मुद्दामामिला सुल्झाउँदै आएका हुन्छन्।
यसैबीच एकदिन अथरेयाका अर्का साथीले एक अज्ञात शव फेला परेको खबर सुनाउँछन्। अथरेया शव हेर्न पुग्छन्। त्यही बेला त्यहाँ पुगेका प्रहरीले कुरै नसुनी उनैलाई हत्यारा भन्दै पक्राउ गर्छन्। हत्या छानबिन गर्न पुगेका जासुस नै हत्या आरोपमा जेल पर्छन्।
जेलमा अथरेयाले एक जना व्यक्ति भेट्छन्। ती मान्छेले आफ्नो नाम भन्दै अथरेयालाई आफ्नी छोरीको कथा सुनाउँछन्। छोरी बेपत्ता भएकाले खोजिदिन भन्छन् र केही मान्छेको सम्पर्क नम्बर पनि दिन्छन्।
जेल पर्नुअघि नै अथरेयाको दिमाग विचलित भइरहेको हुन्छ। तीन वर्षअघि घर फर्केर आउनुपरेको घटना सम्झेर उनी दुखी हुन्छन्।
अब अथरेयाको जीवनले कुन मोड लेला? तीन वर्षअघिको घटनाको उल्झन अहिले आएर सुल्झेला?
उनले जेलमा भेटेका व्यक्ति को हुन्? उनी आखिर किन पक्राउ परे?
यो सबै चक्रव्यूहमा अथरेया कसरी फस्छन्? के उनी यसबाट निस्किन सक्लान्?
अध्ययन र अनुसन्धान गर्दै अर्काका मुद्दामामिला सुल्झाउँदै आएका उनले आफ्नै समस्या कसरी सल्टाउलान्?
तेलुगू चर्चित फिल्म 'एजेन्ट साइ श्रीनिवास अथरेया' ले जासुस अथरेयाको यही कथालाई देखाएको छ।
सस्पेन्स, मिस्ट्री, थ्रीलर र कमेडीको मिश्रण फिल्म एजेन्ट साइ सन् २०१९ मा रिलिज भएको थियो।
बक्स अफिसमा सुपरहिट यो फिल्मले तीनवटा जी सिने अवार्ड, साक्षी एक्सिलेन्स र सिमा अवार्ड पाएको छ। यसबाहेक अन्य थुप्रैमा मनोनीत थियो। आइएमडिबीमा ८.४ रेटिङ पाउन सफल यो तेलुगू फिल्म तमिल भाषामा रिमेक भएको छ। त्यस्तै मलायलम भाषामा पनि बन्दै छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यही मनोरञ्जनात्मक फिल्म सिफारिस गरेका छौं।