सन् २०२२को एकेडेमी अवार्ड सोमबार बिहान दिइएको छ।
यसवर्ष उत्कृष्ट फिल्मको उपाधि कोडाले पाएको छ।
फिल्म ‘द पावर अफ डग’का निर्देशक जेनी क्याम्पियनले उत्कृष्ट निर्देशकको उपाधि पाएकी छन्। निर्देशकको रूपमा ओस्कार पाउने क्याम्पियन तेस्रो महिला हुन्।
यसअघि सन् २०२१ मा क्लोइ झाओले र सन् २०१०मा क्याथरिन विगेलोले हात पारेकी थिइन्।
उत्कृष्ट अभिनेताको अवार्ड विल स्मिथले जिते। उनले ‘किङ रिचार्ड’को लागि यो अवार्ड पाएका हुन्। उनको यो तेस्रो ओस्कार मनोनयन हो। यसअघि उनी ‘अली’ र ‘द पर्सुइट अफ ह्यापिनेस’मा ओस्कार मनोनयनमा परेका थिए।
जेसिका चैस्टेनले फिल्म ‘द आइज अफ टेमी फेय’को लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन्। उनको पनि ओस्कारमा तेस्रो मनोनयन हो।
सह-अभिनेता र अभिनेत्रीको अवार्ड क्रमस ट्रोइ कोत्सर र एरियाना डिबोसले जितेका छन्। ट्रोइ कोत्सरले कोडाको लागि ओस्कार प्राप्त गरे भने एरियाना डिबोसले द वेस्ट साइड स्टोरीको लागि अवार्ड हात पारिन्।
सबैभन्दा धेरै विधामा अवार्ड पाउने फिल्म ‘ड्युन’ बनेको छ। यस फिल्मले ६ वटा विधामा अवार्ड पाएको हो। उत्कृष्ट छांयाकन, सम्पादन, प्रोडक्सन डिजाइन, भिजुअल इफेक्ट, ध्वनी तथा ब्याकग्राउन्ड स्कोरका लागि ड्युनले ओस्कार प्राप्त गरेको हो।
मेकअप एन्ड हेयरस्टाइलिङको अवार्ड ‘द आइज अफ टेमी फेय’ले प्राप्त गर्यो।
त्यस्तै जापानको ‘ड्राइभ माइ कार’ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड पायो।
कस्ट्युम डिजाइन क्रुएलाको लागि जेन्नी विभान, एडप्टेड स्क्रिनप्ले कोडाको लागि सायन हेडेर, ओरिजिनल स्क्रिनप्ले बेलफास्टको लागि केनेथ ब्रानग ओस्कार प्राप्त गरेका छन्।
एनिमेटेड तथा डकुमेन्ट्री फिचरमा क्रमश: एनकान्टो तथा समर अफ सउलले ओस्कार पाए। नो टाइम टु डाइको लागि बिल्ली एलिस र फिनेस ओ कनेलले ओरिजिनल सङको अवार्ड पाए।
त्यस्तै सर्ट फिल्ममा एनिमेटेड तर्फ ‘द विन्डसिल्ड वाइपर’ र लाइभ एक्सन सर्टमा ‘द लङ गुडबाइ’ले अवार्ड आफ्नो पोल्टामा पारे।
तस्बिरहरू: