अहिले युट्युबमा ट्रेन्डिङमा रहेको नेपाली गीत ‘नोगेन’ माथि चोरीको आरोप लागेको छ।
संगीतकार बसन्त सापकोटाले नोगेनको संगीत आफ्नो गीत ‘सागर सरी चोखो माया’ सँग मिलेको बताएका छन्। उनको यो गीत चलचित्र सिलसिलामा समावेश छ।
‘यो गीतको मुख्य भाग मेरो गीत ‘सागर सरी चोखो माया’ सँग मिलेको छ। सागर सरी चोखो माया मेरो पहिचानको गीत हो। धेरै स्रोताले यो गीतको कारण मलाई मन पराउनुहुन्छ,’ सापकोटाले भने,‘मैले संगीत मिलेको भनेपछि उहाँहरूले मसँग छलफल गर्नुपर्ने थियो। उहाँहरूले त इग्नोर गर्नुभयो।’
गीत सुन्ने सामान्य दर्शकले पनि संगीत मिलेको थाहा पाउने उनले बताए। नयाँ गीतको संगीतकारमा संयुक्त रूपमा नाम राख्नु पर्ने सापकोटाको माग छ।
‘मलाई संगीतकारमा मेरो नाम पनि होस् भन्ने मात्र हो,’ उनले भने, ‘महेश खड्का वरिष्ठ संगीतकार हुनुहुन्छ। उहाँप्रति सम्मान छ। तर यसरी सबै गीतको मेलोडी मिल्यो भने हामी कहाँ पुगिन्छ।’
मेलोडी बनाउन धेरै मेहनत गर्नुपर्ने उल्लेख गर्दै सापकोटाले यसरी मेलोडी मिल्दा दर्शकमा नै खड्का प्रतिको सम्मान घट्ने बताए।
संगीतकार खड्काले भने यो विषय गम्भीर भएकाले सञ्चारमाध्यममा धारणा नराख्ने बताए।
‘अहिले म यो विषयमा कुरा गर्न चाहन्न। छिट्टै बसन्तजी सँग बसेर कुरा गर्छु,’ उनले भने।
नोगेनमा प्रमोद खरेल र रुक्साना लिम्बुको आवाज छ। यो गीत अहिले सामाजिक सञ्जाल टिकटक र युट्युबमा चर्चामा छ।