प्रतिरोध जनअधिकार आन्दोलनले शनिबार पोखरास्थित फेवाताल किनारमा प्रदर्शन गरेको छ। फेवाताल अतिक्रमणको विरोध तथा चितवनस्थित मन्दिरमा पूजा गर्न पाउनुपर्ने माग राख्दा हत्या गरिएका भीमबहादुर विश्वकर्माको न्यायको मागसहित शनिबार प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सुशेला संगीत समूह र संगम सांस्कृतिक मञ्चले संयुक्त रुपमा प्रकृति दोहन, पर्यावरण विनाश र ताल अतिक्रमण विरुद्धमा विभिन्न गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा कविहरु राजेन्द्र पौडेल, कल्पना चिलुवाल, विकाश मगरले कविता वाचन गरे।
प्रतिरोधले देशका विभिन्न स्थानमा व्यवस्था विरोधी आन्दोलन गर्ने तयारी गरेको संगठनकी सचिव अनिता पण्डितले जानकारी दिइन्। उनले भनिन्, 'हामी सबै किसिमका शोषण तथा उत्पीडनको विरुद्धमा छौं, अहिले यो व्यवस्थाले विभेद र अन्यायलाई संस्थागत गरेको छ, अहिलेको राजनीतिक व्यवस्थाको विकल्पमा हामीले बहस आरम्भ गरेका छौं।'
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष मनोज खतिवडाले ६० लाखभन्दा बढी युवालाई विदेश पठाउने साथै वैदेशिक अनुदानका भरमा देश विकास गर्ने सोच बोकेको राज्यसत्तालाई आफूहरुले नमान्ने बताए। उनले जात व्यवस्था, पितृसत्ता, पर्यावरण विनास लगायत सबै किसिमका शोषण र उत्पीडनको विरुद्धमा देशैभरि आन्दोलन सिर्जना गर्ने बताए।
प्रतिरोधले पोखरास्थित फेवातालको किनारबाट सांस्कृतिक यात्राको आरम्भ गरेको हो।