'उचाइ' फिल्मको छायांकनका लागि निर्देशक सुरज बड्जत्या कलाकार अनुपम खेर, बोमन इरानी, परिणिता चोपडालगायत बलिउडका जानेमाने कलाकार हाल नेपालमा छन्।
उनीहरु हिन्दी फिल्म छायांकनका लागि नेपाल आएकै बेला एक अर्का चर्चित बलिउड अभिनेता सुनील सेट्टीले नेपाली फिल्म खेल्ने चर्चा चलेको छ।
दुई हप्ताअघि निर्देशक मुकुन्द भट्टले फेसबुकमार्फत् उनको आगामी फिल्म एक्स नाइनमा अभिनय गर्ने संकेत दिएका थिए। हिजो बुधबार अर्को फेसुबक पोस्टमार्फत् सुनील सेट्टीले नेपाली फिल्म खेल्ने टुंगो लागेको जानकारी दिएका छन्।
निर्देशक भट्टले चाँडै फिल्मबारे ठूलो घोषणा गर्ने बताउँदै लेखेका छन्, 'निर्देशकका रुपमा तपाईंसँग काम गर्न पाउँदा खुसी छु सुनील सेट्टी सर। तपाईंलाई नेपाली भूमिमा स्वागत छ।'
उनले फिल्मको ट्रेलर घोषणा गर्ने तयारी भइरहेको भन्दै एक्स नाइन आगामी वर्षको दसैंमा सार्वजनिक गरिने जानकारी समेत दिएका छन्।
यसअघि निर्देशक भट्टले बलिउड अभिनेता सुनील सेट्टीलाई भारतको महाराष्ट्रमै गएर भेटेको तस्बिर सार्वजनिक गरेका थिए।
'एक्स नाइन' अनमोल केसी, सौगात मल्ल, अनुप विक्रम शाही, प्रियंका कार्कीलगायत कलाकारले काम गर्ने भएदेखि नै चर्चामा छ।
'लप्पन छप्पन'का निर्देशक भट्टको यो फिल्म पनि एक्सन प्रधान हुनेछ। तिहारपछि छायांकन सुरु हुने बताइएको फिल्म नेपालसँगै युरोपका विभिन्न सहरमा छायांकन हुने बताइएको छ।
सुनील सेट्टी एक्सन हिरोका रुपमा बलिउडमा चर्चा कमाएका नब्बेको दशकका चर्चित अभिनेता हुन्। बलवान, मोहरा, भाइ, गोपी किशन, दिलवालेजस्ता सफल हिन्दी फिल्म खेलेका उनी तमिल, तेलूगु, मलयालम फिल्ममा पनि देखिँदै आएका छन्।