गायन क्षेत्रमा चर्चित गायकको रूपमा चिनिन्छन् शिव परियार। गायक परियारका अधिकांश गीत दर्शक-श्रोताले मन पराएका छन्।
पछिल्लो समय गायक परियारको ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ आएको थियो।
परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरि अर्को गीत थपिएको छ। ‘पिउन सुरू गरेपछि होस् पनि त कहाँ हुन्छ’ भन्ने बोलसहित इम्प्रेसन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ।
सोही गीतमा मनोरञ्जन उद्योगका नृत्य निर्देशक कविराज गहतराज र हरि हुमागाईँको छायांकनमा क्लब प्लायाटिनममा गीतको दृश्य देखाइएको छ।
यस गीतमा नेपाली चलचित्रका नायक पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जली लुइँटेल र आलिया अधिकारीको डेब्यु प्रस्तुति रहेको छ।
मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गरिएको यो गीतले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने उनीहरूले बताए।
दसैंको माहोललाई ध्यानमा राखेर खाने पिउने सम्बन्धी गीत ल्याइएको गायक परियारले जानकारी दिए। उनले दर्शकको माया र आशीर्वादकै कारण यस गीतलाई लामो समयको प्रयासपछि यो गीत बजारमा ल्याइएको बताए। उनले भने, ‘हामीले रक्सीको विषयलाई लिएर गीत बनाएका हौं। रक्सी खानुपर्छ र रक्सी राम्रो हो भनेर गीत ल्याएका होइनौं।’
उनले समग्र समाजमा भएका कुराहरूलाई गीतमा उतारेको बताए।
‘मैले कहिल्यै रक्सी नपिए पनि सङ्गीतमा पिउने कोसिस गरिरहेको छु,’ उनले भने।