संसारका १ सय १३ देशमा फ्रेन्चाइज शोको रुपमा सञ्चालन भइरहेको रियालिटी सो ‘द भ्वाइस किड्स’ नेपालमा पनि भित्रिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै कात्तिकको दोश्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनबाट द भ्वाइस किड्स प्रसारण हुने जानकारी दिइएको छ।
‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन्।
विश्वका सयौं देशमा नम्बर १ रियालिटी सोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन्। अहिले बालबालिकाको प्रि-अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
डिजिटल अडिसनमा १० हजारभन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्षभन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन्।
कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले सोका प्रायोजक कम्पनी प्रतिनिधिसँग सहमति पत्रमा हस्ताक्षर गरेका छन्। यो सोको टाइटल स्पोन्सर अमृत तेल रहेको छ। यस्तै, हाइजिन पार्टनरमा ‘लाइफब्वाय र डाबर रेड पेष्ट’, को स्पोन्सरमा लिटमस केवल्स र वात्सल्य न्याचुरल, फ्लोरिङ पार्टनरमा जेन्सा कार्पेट र भोटिङ पार्टनरमा खल्ती आबद्ध छ। कार्यक्रमको मार्केटिङ पार्टनर एड प्याड मिडिया मार्केटिङ रहेको छ।
कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाहरुको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीहरुको भन्दा विलक्षण रहेको सुनाए । उनले, आफूहरुले बालबालिकाको प्रतिभा विश्वमाझ पुर्याउनका लागि यो शो तयार पारेको बताए । उनले, बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर शो तयार पारिएको बताए ।
कार्यक्रममा उपस्थित कोचहरु राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभूति भइरहेको बताए। उनीहरुले बालबालिकालाई आफूहरुले मूल्यांकन गर्नेभन्दा पनि उनीहरुको प्रतिभा निखार्न सहयोग गर्ने जानकारी दिए।