चार वर्षअघि 'रुदाने: विद्रोहको नेपाली नाम' फिल्मको पोस्टर सार्वजनिक हुँदा धेरैले सराहना गरेका थिए। थाहा आन्दोलनका प्रवर्तक रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म भएकोले मात्र नभई पोस्टरमा देखिएको अभिनेता दिव्यदेवको लुक्सले समेत धेरैलाई प्रभावित पारेको थियो। तर फिल्म विभिन्न कारणले अड्कियो। बीचमा फिल्म निर्माण पूरा हुँदैन कि भन्ने गाइँगुइँसमेत चल्यो।
चार वर्षपछि आज बुधबार फिल्मको टिजर सार्वजनिक भएको छ। फिल्मको पोस्टरले जस्तै टिजरले पनि धेरैलाई आकर्षित गरेको छ। टिजरमा कतै भाषण गरिरहेको, भित्तामा थाहा लेखिरहेको, हतकडी लगाएको त कतै मानिसहरुलाई प्रशिक्षण दिइरहेको पात्रका रुपमा फरक-फरक हुलियामा देखिएका छन्।
अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा दिव्यदेवका साथमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायत कलाकार मुख्य भूमिकामा देखिने छन्।
जागृत रायमाझीको निर्माण र भानुभक्त थापाको सहनिर्माणमा बन्ने फिल्मले मकवानपुरमा जन्मेका क्रान्तिकारी व्यक्तित्व रुपचन्द्र दामन नेपाल अर्थात् रुदानेको जीवनी चित्रण गर्नेछ। जनमुखी राजनीतिको पक्षधर उनले आफ्नै मौलिक शैलीको 'थाहा' अभियान चलाएका थिए।
फिल्म टिजरमा पनि 'थाहा' शब्द ठाउँ-ठाउँमा प्रयोग भएको देख्न सकिन्छ।