‘किताब यात्रा फाउन्डेसन’को आयोजनामा हुने साहित्य महोत्सव ‘किताब जात्रा’ आज असोज १० गतेदेखि सुरु हुँदैछ। फाउन्डेसनद्वारा प्रेस विज्ञप्ति जारी गरी महोत्सव असोज १० गतेसम्म चल्ने जानकारी गराइएको हो।
समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तर्क्रिया गरिने जात्रामा यस साहित्य, सिनेमा, संगीत, अर्थ, उद्यमलगायतका क्षेत्रका व्यक्तित्वहरू समावेश ८ वटा सेसनका साथै विशेष र काव्यिक प्रस्तुति पनि रहने जनाइएको छ।
कोभिड–१९ महामारीका कारण गत वर्षजस्तै यो पटक पनि महोत्सवका सेसनहरु टेलिभिजनबाट प्रसारण गरिने छन्।
‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा– २०७८’का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘त्यसैले यस वर्ष पनि सेसनहरू एपीवान एचडी टेलिभिजन प्रशारण गरिनेछ। त्यसैगरी किताब जात्रा युट्युब च्यानलबाट पनि सेसनहरू हेर्न सकिनेछ ।’
‘किताब जात्रा’ असोज १० बेलुकी ५ बजेदेखि ७ बजेसम्म र त्यसपछिका दिनमा ६ बजेदेखि ७ बजेसम्म एपिवान टेलिभिजनमा हेर्न सकिनेछ। जात्रामा जोडिएको किताब नामलाई सार्थक बनाउन भने किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उनले बताए।
पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले सञ्चालन गरिएको फाउन्डेसनका सचिव कला अनुरागीले जानकारी दिए। उनका अनुसार ‘कथा लेखनको कथा’ शीर्षकमा आख्यानकार नयनराज पाण्डे र अमर न्यौपानेसँग शोभिता सिंखडाले सम्वाद गर्नेछिन् भने ‘लेखनमा लगाव’ शीर्षकमा सुरेश बडाल र प्रभाव बरालसँग मोहराज शर्माको संवाद हुनेछ। जात्रामा कवि नवराज पराजुलीको विशेष प्रस्तुति समेटिनेछ।
अभिनेता निखिल उप्रेती र विपिन कार्कीसँग ‘सिनेमाको संसार’ तथा सुगम पोखरेल, प्रकाश सपुत र प्रमोद खरेलसँग
‘स्वरको सरगम’ शीर्षकमा समा थापाले बहस चलाउँदैछिन्। त्यसैगरी गायक अमृत गुरुङसँग टिकाराम यात्रीको अन्तरंग कुराकानी जात्रामा हेर्न सकिनेछ।
गायिका आनी छोइङ डोल्माको विशेष प्रस्तुति पनि जात्रामा रहनेछ ।
‘अबको नेपाल, डिजिटल नेपाल’ शीर्षकमा डा. बैकुण्ठ अर्याल, पुरुषोत्तम खनाल र सुनैना पाण्डेसँग सुवास शर्माको अन्तरक्रिया हुनेछ भने ‘उद्यमको बाटो’ शीर्षकमा लक्ष्मण न्यौपाने र रमेश शेर्पासँग रूपा खड्काले अन्तर्क्रिया गर्नेछिन्।
‘अर्थको अर्थ’ सेसनमा महाप्रसाद अधिकारी, किरणकृष्ण श्रेष्ठ र वर्षा श्रेष्ठसँग भरत रिजालले बहस गर्नेछन्। जात्राकै अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिने फाउन्डेसनका उपाध्यक्ष कृपेश किशोर घिमिरेले बताए।
नगद राशिसहितको प्रदान गरिने सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्व। प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो । उनी फाउन्डेसनका संस्थापक अध्यक्ष ऋषिराम अधिकारीको पिता हुन्। प्रेम साहित्य सम्मान साहित्यकार सरुभक्त र कवि जसराज किराँतीले प्राप्त गरिसकेका छन्।
फाउन्डेसनले आयोजना गर्ने गरेको ‘किताब जात्रा’को यो चौथो संस्करण हो। नबिल बैंक लिमिटेडको शीर्ष प्रायोजन रहेको जात्रा ‘क्रेता मार्ट’सँगको सहकार्यमा हुन लागेको हो। ‘पावर्ड बाइ’मा ‘नेपाल बैंक लिमिटेड’ र राष्ट्रिय वाणिज्य बैंकले सहकार्य गरेका छन्।
त्यसैगरी, हरेक नागरिकले सहज रूपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्ने ध्येयका साथ अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको कम्पनी किताब यात्रा प्रा.लि.ले ‘किताब जात्रा’कै अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गर्नेछ।
यो अवार्ड आख्यानकार अमर न्यौपानेलिखित ‘गुलाबी उमेर’ र विजयकुमारलिखित ‘सम्बन्धहरू’ले प्राप्त गरिसकेका छन्। यस वर्षको सम्मान र अवार्ड दुवै ‘किताब जात्रा’को पहिलो दिन घोषणा गरिने किताब यात्रा प्रा.लि.का सिइओ विकेश भट्टराईले बताए ।