हास्य कलाकार रमेश केसीको निधन भएको छ। आइतबार बिहान एउटा भिडिओको छायांकन भइरहेका बेला उनको निधन भएको हो।
सामाजिक सञ्जालमार्फत् कलाकार केसीको निधन भएको जानकारी दिँदै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाले यो दुखद खबरले आफूलाई मर्माहत बनाएको लेखेका छन्।
‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एउटा भिडिओ छायांकनका लागि छन्दे स्टुडियो तारकेश्वर नगरपालिका, महाँकालमा पुगेका थिए। छायांकन स्थलमा अचानक बेहोस भएका उनलाई गंगालाल हृदयरोग केन्द्र लगिएको थियो। अस्पताल पुर्याइए लगत्तै उनलाई मृत घोषित गरिएको थियो। उनलाई लामाे समयदेखि मुटुसम्बन्धी रोगले सताएको थियो।
६९ वर्षको उमेरमा संसार त्यागेका उनको पार्थिब शरीरलाई आज दिउँसो १ बजेदेखि २ बजेसम्म आर्टघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।
केसी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीभन्दा अघिदेखि स्टेजमा हास्य कलाकारका रूपमा चर्चा कमाएका कलाकार हुन्।
२००९ सालमा इमाडोल, ललितपुरमा जन्मेका केसी २०२८ सालदेखि अभिनयमा सक्रिय थिए। उनले करिब ४ दशकभन्दा लामो समयदेखि सक्रिय उनी स्टेज, रंगमञ्च, टेलिशृंखला र सिनेमामा सक्रिय थिए। उनी तीन दशक शिक्षण पेसामा समेत सक्रिय रहे।
'मट्टारे'को उपनामले चिनिने उनलाई एक जमानामा सबैभन्दा पातलो कलाकारका रुपमा समेत चिनिन्थ्यो।
वि.सं. २००९ सालमा जन्मिएका कलाकार केसीका २ छोरा, ३ छोरी र श्रीमती छन्।