'फुलबुट्टे सारी' गीतकी गायिका मिलन नेवारको हालै शल्यक्रिया भएको छ। तीन दिनअघि उनको पित्तथैलीका लागि पत्थरीको शल्यक्रिया भएको हो। सामाजिक सञ्जालमा शल्यक्रिया र अस्पताल बसाइँ अनुभव साट्दै उनले यसबारे जानकारी गराएकी हुन्।
आफ्नो फेसबुक मार्फत उनले शल्यक्रियापछि घर फर्केको बताएकी छन्। अहिले आफ्नो स्वास्थ्य सामान्य बन्दै गएको जानकारी दिँदै उनले लेखेकी छन्, 'अपरेसन भनेको अपरेसन नै रहेछ। चाहे जत्रो होस् प्रक्रिया त्यही दुखाइ। त्यै, बस घाउ सानो वा ठूलोl धेरै समयदेखि पालेर राखेको लगभग १२ एमएम (पित्तथैली ढुंगा) को भारी बल्ल बिसाएँl'
आफूले अब १० देखि १५ दिनमा काममा फर्कने बताउँदै आफ्नो उपचार गर्ने डाक्टरहरुलाई धन्यवादसमेत दिएकी छन्। 'यसमा मलाई सबै कुरा सहज बनाई मेरो उच्च रेखदेखका साथ मेरो अपरेसन गर्नु हुने ग्यास्ट्रो सर्जन डाक्टरद्वय जो कलाप्रेमी पनि हुनुहुन्छ र आफैं पनि कलाकार हुनुहुन्छ। डाक्टर ('फूलबुट्टे सारी' सर्जन भर्सन गायक) रमेश सिंह भण्डारी र ('फूल कुमारी' गीतका लेखक) डाक्टर प्रकाश पौडेलज्यूलाई हृदयदेखि धन्यवादl'
उनले दुबै जना डाक्टरसँग खिचेको तस्बिर फेसबुकमा पोस्ट गर्दै उनले धन्यवाद दिएकी हुन्।
उनले उपचारका क्रममा आफूलाई साथ, हौसला र माया दिने परिवारका सदस्य, आफन्तजनलगायत सबैलाई धन्यवाद दिएकी छन्।
गायिका मिलनले अन्तमा सुझावसमेत दिएकी छन्, 'आफ्नो स्वास्थ्यको ध्यान राख्नु होला, केही बिमार रहे समयमै उपचार गर्नु होला। सकेसम्म वर्षमा एक पटक पूरै शरीरको जाँच गर्नुहोला। सही खानपान दैनिक व्यायाम गर्नुहोला र स्वस्थ रहनु होला।'