साहित्य सृजना र पर्यटनकर्मलाई एक साथ अघि बढाइरहेका चितवनका युवा उद्यमी सुमन घिमिरेको दोस्रो कविताकृति ‘सूनको टप’ पाठक माझ आएको छ। यसमा जीवन र जगत बारेमा लेखिएका ४१ कविता समाबेश छ।
विगत दुई दशकदेखि साहित्यको महासागरमा डुबुल्की मार्दै आएका घिमिरे सरल भाषामा कलात्मक ढंगले भोगेका, देखेका र अनुभव गरेका कुरालाई कवितामा ढाल्न सिपालु छन्। उनी साहित्य, पर्यटन र समाजका विषयमा लेखहरू पनि लेख्छन्।
केही दिन अघि उनकै गृहथलो सौराहामा ‘सुनको टप’ सार्बजनिक गरिएको थियो। उक्त कार्यक्रममा उनले सुनाएको ‘सम्पादकलाई चिठी’ कविताले दर्शकदिर्घालाई भावुक बनायो। बिहान–बेलुकाको छाक टार्न बिदेशीन बाध्य नेपालीको पीडा बोकेको कविताले सबैलाई गम्भीर बनायो। कार्यक्रममा उनले ‘बराबर’ र ‘सूनको टप’ कविता पनि बाचन गरेका थिए।
नियात्राकार प्रतीक ढकाल, कविद्वय भूपिन एवं चेतराज रेग्मी, समिक्षक महेश पौड्याल र कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बि क्षेत्रीले घिमिरेका कविताको चर्चा गर्दै उनलाई शुभकामना दिएका थिए।
‘सूनको टप’ गोरखा पब्लिकेशन्सले प्रकाशन गरेको हो। यस अघि उनको कविताकृति ‘मेरो बैंसको क्यालेण्डर’ र उपन्यास ‘मौनता’ छपिाएको छ। कवि घिमिरेको ‘सम्पादकलाई चिठी’ शीर्षक कविताको पंक्तिहरूः
सम्पादकज्य्रू
म मरेको समाचार पनि छापिएछ नि
तपाईंको अखबारमा।
मेरो नाम टाँसिएको काठको बाकस
काठको बाकस डोर्याउने मेरा साथीहरू
मेरो मृत्यूले क्षतविक्षत भएर
एउटा कुनामा
कर्नाली बगाउँदै गरेकी मेरी श्रीमती
हामी सबै अटाएछौं समाचारसँगैको
फोटोमा।’