नेपाली फिल्म ‘पुतलीको सपना’ बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल अन्तर्गतको 'वेस्ट मिट्स इस्ट स्क्रिन प्ले ल्याबमा छनौट भएको छ। यसै वर्ष सुरु भएको ल्याबमा ११ फिल्मका स्क्रिप्टमध्ये नेपालबाट किरण पोखरेलको ‘पुतलीको सपना’को स्क्रिप्ट छानिएको हो।
निर्देशक तथा लेखक किरणले सामाजिक सञ्जालमार्फत् आफ्नो फिल्म छनौट भएको जानकारी गराएका हुन्।
छनौट भएका फिल्मलाई ल्याबले मेन्टरसिप प्रदान गर्नेछ। मेन्टरसिप पाउने ११ मध्ये पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई स्क्रिप्ट डेभलेपमेन्टका लागि क्रमशः ५ हजार, ३ हजार र २ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ।
त्यस्तै ढाका फेस्टिभलको ‘फिल्म हट’ कार्यक्रम अन्तर्गत संसारभरबाट उपस्थित भएका वितरक तथा फिल्म निर्माताहरुबीच फिल्म प्रोजेक्टको अवधारणा प्रस्तुत गर्ने अवसर दिइनेछ।
नेपालबाट छानिएको फिचर फिल्म ‘पुतलीको सपना’ आफ्नो लैंगिक परिचयका लागि आफैंभित्र संघर्ष गर्दागर्दै तत्कालिन छापामार युद्धमा होमिएकी नेपालको पहाडी भेगको किशोरीको कथा हो।
फिल्म स्टडिजमा स्नातक गरेका लेखक तथा निर्देशक किरण पोखरेलले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न फिल्म, डकुमेन्ट्री, रियालिटी शो लगायतमा लेखन, निर्देशन तथा निर्माण गरिसकेका छन्।
उनको सर्ट फिल्म ‘मानुषी’ले 'एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल' २०१३ मा उत्कृष्ट फिल्म, त्यस्तै अर्को सर्ट फिल्म ‘विङ्स’ले कान्स इन्टरनेसनल फिल्म फेस्टिभलमा वितरण गरिएको नेस्प्रेस्सो ट्यालेन्ट २०१८ मा उत्कृष्ट फिल्मको पुरस्कार पाएको थियो।
लेखन प्रक्रियामै रहेको यस फिल्मको निर्माता रेजनेटिङ पिक्चर्सका सुशान्त श्रेष्ठ हुन्। निर्माता सुशान्तले दक्षिण कोरियाको एसियन फिल्म स्कुल (एफिस), बुसान अन्तर्गत निर्माताको ६ महिने कोर्समा पनि ‘पुतलीको सपना’माथि काम गरिरहेका छन्।
निर्देशक किरण र निर्माता सुशान्तले अर्को एक सर्ट फिल्मको पनि तयारी गरिरहेका छन्। ढाकाको वेस्ट मिट्स इस्ट स्क्रिन प्ले ल्याबमा सुशान्तले सहनिर्माण गर्ने बंगलादेशकै शजेदुल इस्लामको ‘द क्यामेरा किड्स’ पनि छनौटमा परेको छ।
सो स्क्रिनप्ले ल्याबमा बंगलादेशबाट ५, भारतबाट २, नेपाल, श्रीलंका, अफगानिस्तान र भुटानबाट एक/एक फिल्म छानिएको छ।