चौथो संस्करणको गायन रियालिटी शो ‘नेपाल आइडल’ को डिजिटल अडिसन आजदेखि शुरू भएको छ। ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलका अनुसार आजदेखि सुरू भएको डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ।
कोरोनाको महामारीबीच अडिसन गर्न ठाउँ ठाउँमा पुग्न गाह्रो भएकाले डिजिटल अडिसन शुरु गरिएको पौडेलले जानकारी दिए।
डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले सहभागी हुन पाउने छन्।
‘नेपाल आइडल’को चौँथो संस्करणको डिजिटल अडिसनका लागि प्ले स्टोरमा गएर एपी अन एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी मागिएको विवरण भर्नुपर्नेछ। साथै आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ।
भदौ १ गतेदेखि शुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ।
शोमा निर्णायकहरु को-को हुने भन्ने बारे केही दिनमा फाइनल हुने पौडेलले बताए। यद्यपी यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायक संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी परिवर्तन हुनेछन्।
‘नेपाल आइडल’ को पहिलो संस्करणमा बुद्ध लामा, दोस्रोमा रवी ओड र तेस्रोमा सज्जा चौलागाँई विजेता बनिसकेका छन्।