गायक प्रकाश सपूतले गीत-संगीतका माध्यमबाट सामाजिक विषय उठाउने गायकका रुपमा पटक-पटक आफूलाई अब्बल साबित गर्दै आएका छन्। उनका 'बोल माया', 'बदला बरी लै'देखि पछिल्लो गीत 'यो देश मेरो पनि हैन र?' सम्मका गीतमा नेपाली समाजभित्रका अनेक मुद्दाले ठाउँ पाएको छ।
स्रोता दर्शकले पनि उनको प्रयास र प्रयोगलाई मन पराइरहेका छन्। अक्सर उनको गीत ट्रेन्डिङमा पर्न सफल हुनुले पनि उनका गीत स्रोता दर्शकले मन पराएको देखाउँछ।
हालै सार्वजनिक प्रकाशको नयाँ गीतमा पनि उनले आफ्नो यही विशेषतालाई कायम राखेका छन्। यस पटक प्रकाशले ‘कुरा बुझ्न पर्च’ बोलको तीज गीत सार्वजनिक गरेका हुन्। गत शुक्रबार सार्वजनिक यो गीतले हालसम्म २२ लाख बढी भ्युज पाइसकेको छ। युट्युबको ट्रेन्डिङ १ मा उक्लिसकेको यो गीतले युट्युब भ्युज मात्र नभएर स्रोताहरुबाट पहिलाझैं सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
गीतले २४ घन्टाभित्र सर्वाधिक हेरिएको गीतको रेकर्डसमेत बनाइसकेको छ। महिला सशक्तीकरणको सवाललाई फरक शैलीमा पेस गरिएको यो गीतको सफलताबाट हौसिँदै प्रकाशले आफ्नो फेसबुकमा लामो स्टाटस लेखेका छन्। आफ्नो गीतमा गम्भीर विषय उठाए पनि यस पटक रमाइलो प्रस्तुतिका साथ 'ट्राइ' मारेको भन्दै उनले महिला शसक्तीकरणको विषय रमाइलो गर्ने विषय नभएको समेत लेखेका छन्।
गीतबाट आएका प्रतिक्रिया हेरेर स्रोता दर्शकले रमाइलो गीतभित्र लुकेको गम्भीर पक्ष बुझेकोमा सन्तुष्टि पोखेका छन्। 'हामीले छुन खोजेका केही विषय धेरै जनाले मज्जाले नोट गर्नुभएको रैछ। युवतीहरुका केही प्राकृतिक सुन्दरता र स्वभावहरु सहित लैंगिक स्वतन्त्रता, आत्मनिर्भरता, आत्मसम्मान र हक अधिकारका कुरा देखाउन खोजेको। जातीय सहिष्णुता र मित्रतालाई पनि कतै कतै झल्काउन खोजेको। सप्पैले बुझ्नु भएछ।'
उनले दर्शकहरु सचेत हुँदै जानु नेपाली कला साहित्य र संगीतका लागी खुसीको कुरा भएको भन्दै थप लेखेका छन्, 'दर्शक सचेत भए भने एउटै सिर्जनालाई विचारका रुपमा सम्प्रेषण पनि गर्न सकिन्छ। वस्तुका रुपमा व्यापार पनि गर्न सकिन्छ ! बस् 'कुरा बुझ्न पर्च' है!
प्रकाशको शब्द, संगीत रहेको ‘कुरा बुझ्न पर्च’मा शान्तीश्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन्। प्रकाश आफैंले निर्देशन गरेको भिडिओमा स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ।
भिडिओमा लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत लगायत कलाकारले समेत अभिनय गरेका छन्। गीतको भिडिओ नवराज उप्रेतीको छायांकन र प्रवीन भट्टको सम्पादनमा तयार भएको हो।
गीत गायक प्रकाशको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।